धादिङ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज एक विशेष समारोहका बीच जिल्ला खेलकुद विकास समिति धादिङको नव निर्मित भवन उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री जम्कट्टेलले समृद्ध बागमती प्रदेश बनाउने योजना अन्तरगत खेल महत्वपूर्ण विधा हो । खेलकुदको भौतिक संरचना सँग खेलकुद विकासले मात्रै बागमती प्रदेश समृद्ध बन्न सक्ने हुँदा खेलकुदलाई महत्वमा राखेर योजना बनाईएको बताए । प्रदेशका सबै जिल्लामा हामीले खेलकुद विकासलाई जोड दिई रहेका छौं, प्रदेशको आकांक्षा बमोजिम धादिङमा भएको खेलकुद गतिविधि अन्य जिल्लाको तुलनामा प्रशंसनिय रहेको समेत उनले बताएका थिए ।
खेलकुद विकास समिति धादिङको भवन शिलान्यास गत माघ २५ गते मुख्य मन्त्री शालिकराम जम्कट्टेलले नै गरेका थिए । बागमती प्रदेश सरकारले उक्त भवन निमार्णका लागि १ करोड विनियोजन गरे पनि ठेकेदार कम्पनी अन्नकन्या निर्माण सेवा प्रालिले ७१ लाखमा टेन्डर पारी कार्य सम्पन्न गरेको हो ।
जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङको सभापतित्वमा भएको उक्त भवन उद्घाट कार्यक्रममा प्रदेश सांसद मायाँदेवी शर्मा, एमाले धादिङका उपाध्यक्ष धनबहादुर घले, माओवादी केन्द्रका जिल्ला संयोजक मनराज भण्डारी, धुनीबेसी नगर पालिकाका प्रमुख बालकृष्ण आचार्य लगायतले मन्तव्य राखेका थिए ।