धादिङ । नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोगमा नेपाल तेक्वान्दो संघले भदौ २७ देखि ३१ गते सम्म ११ औं कोरियन एम्बेसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको आयोजना गर्दै छ ।
उक्त प्रतियोगिताको लागि धादिङबाट विभिन्न तौल समुहका ४० जना खेलाडीहरुले प्रतिस्पर्धा गर्ने नेपाल तेक्वान्दो संघ धादिङका अध्यक्ष प्रदिप गिरीले धादिङपोष्टलाई बताएका छन् । प्रतियोगिता सातदोबाटो स्थित संघको आफ्नै हलमा हुनेछ ।
अध्यक्ष गिरीका अनुसार नेपाल तेक्वान्दो संघ सँग आवद्ध धादिङका धादिङ डोजाङबाट २५ जना, मलेखु डोजाङ ८ जना, गल्छी डोजाङ ६ जना र जनजाग्रिति डोजाङबाट १ जना गरी ४० जनाले प्रतियोगितामा भाग लिने भएका हुन् । प्रतियोगितामा भाग लिन जाने सबै खेलाडीहरुलाई नियमित प्रशिक्षणमा राखिएको समेत उनले बताए ।
यस प्रतियोगितामा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीका गरी तीन विभागीय टोलीका साथै नेपाल तेक्वान्दो संघमा आबद्ध रहेका नेपालभरिका सम्पूर्ण तेक्वान्दो तालिम केन्द्रका खेलाडी र वाह्य देशका खेलाडीहरुकाे सहभागिता रहने छ ।