हनुमानढोका परिसरमा भएको फोटो प्रदर्शनीमा धादिङका तीन फोटो

Avatar photo
Dhadingpost
शनिबार, भदौ २, २०८०

धादिङ । राष्ट्रिय फोटो पत्रकार समूह, नेपालले सिविन-नेपालसंगको सहकार्यमा काठमाडौंको हनुमानढोका परिसरमा गरेको फोटो प्रदर्शनीमा धादिङका ३ फोटो ग्राफरले खिचेको फोटो समेत समाबेश भएको थियो ।

१८४ औं फोटोग्राफी दिवसको अवसरमा “बालबालिका राष्ट्रिय गौरव हुन् (तस्वीरमा बालबालिका) नाम दिएर गरिएको फोटो प्रदर्शनीमा धादिङका फोटो ग्राफर गौरव श्रेष्ठ, सन्तोषराज श्रेष्ठ र नारायण सिलवालले खिचेको फोटोले समेत स्थान पाएको हो।

प्रदर्शनीमा २५ जना फोटो पत्रकारका बालअधिकारको संरक्षण र प्रवर्द्धनमा समाजमा आएको सकारात्मक परिवर्तनलाई चित्रण गर्ने प्रकारका बालबालिकासम्बन्धी ६० वटा तस्वीरहरु राखिएको कार्यक्रम संयोजक तथा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालका कार्यवाहक महासचिव घनश्याम श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा बालबालिकाको संरक्षणकालागि खडा गरिएको संयन्त्र बालहेल्पलाइन नेपाल १०९८ बारे जानकारी फैलाउने उद्देश्यले बाल हेल्पलाइन मोबाइल बुथ पनि प्रदर्शनमा राखिएको थियो ।

उक्त फोटो प्रदर्शनीले “बालबालिका राष्ट्रिय गौरव हुन्” अभियानलाई अझ बढी बल पुगेको र बालअधिकार आन्दोलनलाई अगाडि बढाउन महत्वपूर्ण सहयोग हुने बालअधिकार अभियान्ता तथा सिविन नेपालका संस्थापक अध्यक्ष गौरी प्रधानले बताए ।