आलुको राजधानी गुम्दामा आलु मेला हुने, खेलाडीलाई नगद सँगै आलु पुरस्कार

Avatar photo
Dhadingpost
शुक्रबार, साउन २६, २०८०

गोरखा । गोरखाको धार्चे गाउँपालिका ५ गुम्दालाई आलुको राजधानी भनेर चिनिने गरिन्छ । बिगत बर्षहरुमा झैँ यसबर्ष पनि गुम्दामा आलु मेला हुने भएको छ ।

गुम्दा एकता युवा क्लवले आउँदो भदौ २ देखि ५ गतेसम्म गुम्दा आलु मेला २०८० आयोजना गर्न लागेको हो । मेलाको अवसरका पुरुष भलिबल प्रतियोगिताको भव्य तयारी समेत गरिएको छ ।

महिला र पुरुष दुबै विधामा हुने उक्त भलिबल प्रतियोगिताको राशी पुरुष भलिबल प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुने टिमले क्रमश ६० हजार, ४० हजार, ३० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने उनले बताए । महिला भलिबल प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुने टिमले क्रमश १६ हजार, १२ हजार, १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त उनले उनले बताए । प्रतियोगितामा पुरुष र महिला भलिबल प्रथम, दोस्रो र तेस्रो हुने सबै टिमलाई तीन÷तीन पाथी आलु समेत दिइने आयोजकले जनाएको छ ।

मेलामा लोक नृत्य प्रतियोगितामा पनि आयोजना हुनेछ । सो प्रतियोगितामा प्रथमले १५ सय सहित सुनको औठी, द्वितीय हुनेले एक हजार सहित चाँदीको औठी, तृतीय हुनेले आठसयसहित चाँदीको औठी प्रदान गरिने उनले बताए । यसका साथै पहिलो, दोस्रो र तेस्रो हुनेलाई दुई/दुई पाथी आलु समेत वितरण गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको मुख्य आकर्षणमध्ये आलु खाने प्रतियोगितासमेत हुनेछ । सो प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश १२ सय, एक हजार, आठ सय सहित २/२ पाथी आलु प्राप्त गर्नेछन् । त्यस्तै, मूर्ति नाँच प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमश १२ सय, एक हजार, आठसयसहित दुई/दुई पाथी आलु प्रदान गरिने क्लवका उपाध्यक्ष मितिराज गुरुङले जानकारी दिए । उनका अनुसार मेलाकै अवसरमा आयोजना गरिने सटपुट प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमश दुई हजार, १५ सय, एक हजार सहित दुई/दुई पाथी आलु पाउने छन् ।

तीर हान्ने प्रतियोगिता र हाँडी फुटाइ प्रतियोगितामा प्रथम हुने एक जनाले नगद एक/एक हजार सहित दुई/दुई पाथी आलु वितरण गरिने उनले बताए । त्यस्तै, आलु तथा हस्तकला प्रदर्शनीमा राखिएकामध्ये पाँच जना उत्कृष्ट कृषकलाई नगद सहित सम्मान गरिने बताइएको छ । गोरखाको धार्चेको गुम्दा, लाप्राक लगायतका आसपासका गाउँलाई आलु पकेट क्षेत्रका रुपमा चिन्ने गरिन्छ । समाचार स्रोत दरौंदी अनलाईन