धादिङका ४ स्कुललाई प्रदेशले बस किन्न पैसा दियो, दुई आयो, दुई अनिश्चित

Avatar photo
Dhadingpost
बिहिबार, साउन २५, २०८०

धादिङ । गत आर्थिक वर्ष (२०७९–०८०) मा बागमती प्रदेश सरकारले धादिङका ४ विद्यालयहरुलाई स्कुल बस खरिद गर्न २५–२५ लाख दियो । दुईवटा विद्यालयले बस ल्याए पनि दुई विद्यालयले अझै बस ल्याउन सकेका छैन् ।

धुनीबेसी नगरपालिका ७ स्थित मछिन्द्र मावि र बेनीघाट रोराङको मझिमटारमा रहेको शंखादेवी माविले पहिलो बस भएकोले संझौता अनुसार नै ल्याए भने धादिङबेसी स्थित नीलकण्ठ मावि र थाक्रेको जनजाग्रीती माविले यसअघि पहिलो बसमा कर छुट पाई सकेकोले संझौतामा जे भएपनि दोस्रो बस खरिदमा छुट दिन नसकिने कम्पनीले जनाउँदा स्कुल बस ल्याउन सकेका छैन् ।

हामी धादिङ ४ वटै विद्यालयले एउटै कम्पनी सँग संझौता गरेका हौं । पहिलो पटक भएकोले मछिन्द्र मावि र शंखादेवी मावि ले संझौता अनुरुप नै पाए अनि ल्याए । जनजाग्री थाँक्रेलाई र हामीलाई दोस्रो बस खरिद भएको हुँदा संझौता विपरित १३ % रकम थप गर्नुपर्छ भनेकोले बस ल्याउन नसकिएको नीलकण्ठ माविका प्रधानाध्यापक ध्रुव अधिकारीले बताए ।

हामीलाई प्रदेशले पैसा दिना साथ हामीले एसएमबल कम्पनीलाई संझौता बमोजिमको २३ लाख ५६ हजार खातामा पठाई सकेका छौं । अहिले सम्झौता विपरित २ लाख ५६ हजार ३१३ रुपैयाँ थप गर्नुपर्ने सर्त राखेर कम्पनीले बस नदिएको प्रअ अधिकारीले बताए । हामीले संझौता भन्दा बढी रकम दिन सक्दैनौं भनेका छौं । संझौता कार्यान्वयन नगरे कानुनी प्रक्रियामा जाने समेत आफुले उक्त कम्पनीलाई जानकारी दिएको उनले बताए ।