काठमाडौं । संखुवासभामा २ जना कैदीको मृत्यु भएको घटनामा ९ जना कैदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
संखुवासभा कारागारमा रहेका कैदीहरु मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका–७ का २८ वर्षिय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको थियो ।
उनीहरु मंगलबार राति जेलको रड काटेर भागेका थिए । भाग्दै गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेर ल्याएर जेलमै राखेको थियो। पछि राति २ बजेतिर अन्य कैदीहरुले उनीहरु २ जना गम्भीर बिरामी भएको भन्दै जानकारी गराएपछि अस्पताल लगिएको थियो ।
अस्पतालमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताएका छन् । यो घटनाको छानबिन गर्न संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि अधिकारीको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति बनाइएको छ।