विमानस्थलबाट बाहिरिएको करिब १०० किलो सुन बरामद

Avatar photo
Dhadingpost
बिहिबार, साउन ४, २०८०

काठमाडौं । झट्ट हेर्दा मोटरसाइकल र स्कुटरको ब्रेक सु। पूरै सिल प्याक। तर, उक्त सामान ब्रेक सु मात्रै थिएन, भित्र भेटियो सुनका टुक्रा, त्यो पनि एक क्वीन्टल बढी। हङकङबाट क्याथे प्यासिफिकको उडान हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पनि पार गरेर सिनामंगल पुग्न लागेको अबैध सुन बुधबार बरामद भएको छ।

मंगलबार साँझ विभागले गरेको गोप्य अप्रेसनमा सुनसहित तीनजना पनि पक्राउ परेका छन् । सुनको यकिन परिमाण आइनसके पनि (जोख्न बाँकी) करिब सय केजीहाराहारीमा रहेको अनुसन्धान विभागका अधिकारीले बताएका छन् । ती अधिकारीका अनुसार सुनका एक सय ६० टुक्रा बरामद भएका छन्, जसको मूल्य करिब एक अर्बभन्दा बढी रहेको अनुमान गरिएको छ । नेपालमा सुन बरामद परिमाण यो नै अहिलेसम्मकै ठूलो हो । यसअघि एकैपटक ८८ केजीसम्म बरामद भएको थियो ।

सुन बा २ च २३२४ नम्बरको ट्याक्सीमा राखेर विमानस्थलबाट बाहिर लैजाँदै गर्दा बरामद भएको बताइएको छ। नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले ठूलो परिमाणमा सुन बरामद भएको पुष्टि गरे। भने, ‘यति ठूलो मात्राको सुन पहिलोपटक बरामद भएको हो। घटनाको अनुसन्धान भइरहेको छ। बरामद सुनको मूल्य करिब एक अर्ब रहेको छ।’ अन्नपूर्णलाई प्राप्त स्रोतका अनुसार सुन हङकङबाट आएको हो। बुधबार मात्रै उक्त सुन भन्सार पास भएको थियो।

सुनलाई मोटरसाइकलको ब्रेक सु र दाह्री काट्ने रेजरमा लुकाएर ल्याइएको थियो। सामानको भन्सार पास गर्ने क्रममा सामानभित्रको सुन पनि कर्मचारीकै मिलेमतोमा पास भएको बताइएको छ। बरामद सुनमा ठूलो व्यापारिक समूह संलग्नता हुन सक्ने प्रहरी अधिकारीको आंशका छ। बुधबार दिउँसो दुई बजे भन्सार पास भएको उक्त सुन तीन घन्टापछि बरामद भएको हो। यो समूहले यसअघि पनि ठूलो मात्रामा सुन तस्करी गरेको हुनसक्ने प्रहरीको आशंका छ। प्रारम्भिक अनुसन्धानका क्रममा १ सय ६० वटा सुनको टुक्रामा ल्याइएको पाइएको छ। विमानस्थल भन्सार कार्यालयले भने यस विषयमा केही जानकारी नभएको बताइएको छ।

अहिले सुन ल्याउने गिरोहले पछिल्लो दुई महिनामा २५ पटकभन्दा धेरै त्यसैगरी सुन तस्करी गरेको देखिएको छ । त्यतिवेला पनि सुन ल्याएको हुन सक्ने भएकाले त्यसतर्फ विभागले अनुसन्धान अघि बढाएको छ । सो समूहले विमानस्थलबाट सयौँ केजी सुन तस्करी गरेको आशंका गरिएको छ । विभागका एक अधिकारी भन्छन्, ‘यस्तै कन्साइनमेन्ट विगतमा पनि आएको छ, तस्करीको शैली हेर्दा त्यतिवेला पनि झन्डै दुई दर्जनपटक सुन आएको आशंका छ ।’