धादिङ । धादिङमा पनि नेपाल हाप्किडो संघ गठन हुने भएको छ । मार्सल आर्ट अन्तरगतको यस खेलको जिल्ला संघ गठनको लागि साउन ५ गते धुनिबेसीमा जिल्ला भेला हुने भएको हो ।
हाप्किडो खेलमा आवद्ध खेलाडीहरु, यस खेलका शुभचिन्तकहरुलाई भेलामा उपस्थिित हुन नेपाल हाप्किडो संघ बागमती प्रदेशका अध्यक्ष मनोज लामाले आग्रह गरेका छन् ।
के हो त हाप्किडो खेल ?
‘हाप्किडो’ विशेष गरेर कोरियन मार्शल आर्ट्स खेल हो । यो खेलको उत्पत्ति दक्षिण कोरियामा सन् १९४८ मा भएको हो । यो खेलको जन्मदाता चाई योङ्ग सुल हुन् । सुलको जन्म सन् १९०४ मा दक्षिण कोरियामा भएको थियो । सुलले मार्शल आर्ट्सका विभिन्न विधाबाट प्रभावित भएर आफ्नो कलामा आधारित ‘हाप्किडो’ लाई मार्शल आर्ट्स खेलको रुपमा विकास गरेका थिए ।
युरोपमा हाप्किडोले आफ्नो जरा गाडिसकेपछि यसको विकास एसियन राष्ट्रहरुमा हुन पुग्यो । सर्वप्रथम इन्डोनेशिया, सिङ्गापुर, थाइल्याण्ड, उज्बेकिस्तान, भियतनाम, किर्गिस्तान, काजकिस्तान, मंगोलिया, कम्बोडिया, लाओस र हङकङमा यो खेलको विकास र विस्तार भएको देखिन्छ । त्यसपछि अरेबियन राष्ट्रहरुमा पनि यो खेलले विस्तारै विस्तारै, आफ्नो पकड जमाउन सफल भएको थियो । त्यसको केहि समय पश्चात् यो खेलको विकास अष्ट्रेलिया, दक्षिण अफ्रिका र उत्तर अमेरिका महादेशका राष्ट्रहरुमा हुन पुगेको थियो ।
पछिल्लो समय वि.सं. २०६४ सालमा डोजाङ्गकै रुपमा हाप्किडो खेल नेपालमा भित्रिएपनि २०७३ सालमा मात्रै यसले राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट राष्ट्रिय संघको रुपमा मान्यता पाएको थियो । अहिले नेपालमा यो खेल लोकप्रिय बन्दै गहि रहेको छ ।