काठमाडौं । नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपमा आज सोमबार भारत ए सँग खेल्दैछ । भारत र नेपालबीचको खेल नेपाली समय अनुसार दिउँसो २:१५ मा श्रीलंकाको आर प्रेमदासा रंगशालामा हुनेछ । भारतिय टिमले पहिलो खेलमा युएईलाई पराजित गर्दै आफ्नो उपस्थिति दमदार देखाई अगाडी बढेको छ भने नेपालले पहिलो खेल पाकिस्थान सँग पराजित भएको थियो ।
भारतीय टोलीमा युवा स्टारको बाहुल्यता छ । रणजी, भारतको यू१९, भारत ए र आइपिएलमा सानदार प्रदर्शन गरेका युवा खेलाडी छन् । भारतीय क्रिकेटको भविष्य मानिएको यश धुल, ध्रुव जुरेल, साइ सुदर्शन, रियान पराग, प्रभशिम्रन सिंह जस्ता युवा सुपरस्टार खेलाडी छन् ।
नेपाल शीर्षक्रमका ब्याटर कुशल भुर्तेल, आसिफ शेख र अर्जुन साउदबाट उत्कृष्ट सुरुवात चाहन्छ । शीर्षक्रमका ब्याटरले राम्रो सुरुवात दिदा मध्यक्रम र तल्लोक्रमका ब्याटरलाई खेल्न पनि सहज हुन्छ । कप्तान रोहित पौडेल ठूलो इनिङको पर्खाईमा छन् । देव खनाल, गुलशन झा र सोमपाल कामीले तल्लोक्रम सम्हाल्नु पर्ने हुन्छ । देवलाई तेस्रो नम्बरमा खेलाएर अर्जुन साउदलाई फिनिसरमा पनि खेलाउन सक्छ । तीव्र गतिको बलरमा गुलशन, सोमपाल र किशोर हुनसक्छन् । स्पिनमा ललितलाई श्याम ढकालले मौका दिन सक्छन् ।
यस प्रतियोगितामा ६ टोली सहभागीता रहेको छ । सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहका शिर्ष दुई टोली सेमिफाइनलका लागि छानिने छन् । सेमिफाइनल खेल २१ जुलाईमा हुनेछ । सेमिफाइनलका दुई विजेता उपाधीका लागि भिड्ने छन् । फाइनल खेल २३ जुलाईमा रहेको छ ।