दर्शकलाई कुटपिट गर्ने आर्मीका ५ खेलाडीलाई कार्वाही

Avatar photo
Dhadingpost
आइतवार, असार ३१, २०८०

काठमाडौं । सातौं प्रधानमन्त्री कप भलिबल खेल्ने क्रममा दर्शकलाई कुटपिट गर्ने आर्मीका ५ खेलाडीलाई नेपाल भलिबल संघले कार्वाही गरेको छ ।

कार्वाही स्वरुप हरि हजुर थापालाई राष्ट्रिय टोलीको कप्तानबाट पद मुक्त भएका छन् । जिम्मेवारी निर्वाह गर्ने क्षमता नदेखिएका कारण उनलाई कप्तानीबाट पद मुक्त गरिएको नेपाल भलिबल संघले जनाएको छ ।

यस्तै दर्शकलाई हात पात गर्ने आर्मीका खेलाडी धनबहादुर भट्टलाई ६ महिनासम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेल्न नपाउने गरि प्रतिबन्ध लगाएको छ । सोही घटनामा आक्रोशित व्यवहार देखाएका राष्ट्रिय टोलीका सदस्य समेत रहेका आर्मीका राजेन्द्र विष्ट र अर्का खेलाडी धनपती कुँवरलाई ३ महिनाको प्रतिबन्ध लगाएको छ । त्यस्तै अर्का खेलाडी दुर्गाबहादुर खड्कालाई सचेतना गराउने निर्णय गरेको संघले गरेको छ ।

गत सोमबार सातौं प्रधानमन्त्री कप महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगको क्रममा गण्डकी प्रदेशविरुद्ध खेल्नेक्रममा आर्मीका खेलाडीलाई दर्शकले बोतल प्रहार गरेपछि आक्रोसित बनेका आर्मीका खेलाडीले दर्शकलाई कुटपिट गरेका थिए ।