धादिङका ३ खेलाडी, जारी पीएम कप भलिबलमा फरक फरक टिममा

Avatar photo
नारायण सिलवाल
बिहिबार, असार २८, २०८०

धादिङ । काठमाडौंमा जारी सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा पुरुष तर्फ धादिङका तीन जना खेलाडी फरक फरक क्लवबाट खेली रहेका छन् ।

नेपालको राष्ट्रिय टिमबाट समेत खेलि सकेका खेलाडी नेपाल आर्मीबाट ज्वालामुखीका शरण सामरी क्षेत्री र नेपाल पुलिस क्लवबाट नेत्रावती डवजोङका रविन नगरकोर्टी र टिपटप हेल्प नेपालबाट गंगाजमुनाका मनोज श्रेष्ठ जारी सातौं प्रधानमन्त्री कप खेलिरहेका हुन् ।

यी तीन जना सहभागि तिनबटै टिम फाईनल पुग्ने सम्भावना उत्तिकै छ तथापी फाईनल खेल्ने दुई टिम कुन कुन होलान भन्ने चाहि शुक्रबार हुने लिग चरणको अन्तिम खेलहरुले निर्धारण गर्ने छ ।

पछिल्लो खेल अपडेट अनुसार मनोज सहभागि हेल्प नेपाल ५ खेलमा १३ अंकका साथ शीर्षस्थानमा छ । रविन सहभागि नेपाल पुलिस क्लब ५ खेलमा ४ मा जित र १ मा हारसहित १२ अंकका साथ दोस्रो स्थानमा छ । यस्तै शरण सहभागि आर्मी ५ खेलमा ४ मा जित र १ मा हारसहित ११ अंकका साथ तेस्रो स्थानमा छ । नेपाल एपिएफ क्लब ५ खेलमा ३ मा जित र २ मा हारका साथ ११ अंकका साथ चौथो स्थानमा छ ।

प्रतियोगितामा महिला तर्फ ६ तथा पुरुष तर्फ ७ टोलीको सहभागीता रहेको छ । महिला र पुरुष तर्फ शीर्ष दुईमा रहने टोलीबीच फाइनल खेल हुनेछ । फाइनल खेल असार ३० गते शनिबार छ ।