आज आमा खुवाउने औंशी, महत्व र इतिहास

Avatar photo
Dhadingpost
बिहिबार, बैशाख ७, २०८०

आज वैशाखकृष्ण पक्षको औंसी तिथि अर्थात् आमाको मुख हेर्ने दिन । जन्मदाता आमालाई सम्मान गरी मनाइने यो पर्वलाई ‘आमा खुवाउने औंसी’ पनि भनिन्छ ।

जीवित आमालाई मीठो खान लाउन दिई सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी यो पर्व मनाईन्छ सम्झना गरिन्छ । आजको दिनमा आमा जीवित हुनेहरूले आमाको दर्शन गरी आमालाई मनपर्ने मिष्ठान्न, लुगाफाटो लगायत उपहारद्वारा सम्मान र कृतज्ञता अर्पण गर्ने गरिन्छ ।

इतिहास र धार्मिक पक्ष
सनातन धर्मले मातापिता लगायत मान्यजनको दैनिक दर्शन, पूजन, सेवा, भोजन आदि गराउन अनादिकाल देखि नै सिकाएको छ । तर सबै सन्ततिलाई दैनिकरूपमा मातापिताको सेवासुश्रूषा गर्न सम्भव नहुने भएकाले त्यही पवित्र कर्मको वार्षिक उत्सवको रूपमा मातातीर्थ औंसी तथा कुशे औंसीलाई लिइएको हो । मातृ दिवस वा आमा दिवस आमाप्रति सम्मान गर्ने र आमालाई सम्झने दिन हो । यो दिवस विश्वका धेरै देशहरूमा अलग–अलग दिनमा आ–आफ्नो परम्परा अनुसार मनाउने गरिन्छ । नेपालमा यो दिवस मातातीर्थ औंसीको दिनमा मनाइन्छ ।

त्रेतायुगमा दशरथपुत्र मर्यादा पुरुषोत्तम श्रीराम वनवास जाँदा लक्ष्मण र सीताका साथमा घुम्दै यस ठाउँमा आइपुग्नुभयो । अपरिचित उहाँलाई स्थानीय बासिन्दाहरूले नौलो र शंकास्पद देखेर आक्रमण गरे । त्यसपछि श्रीराम र उनीहरूबीच ठूलो युद्ध नै भयो । दुवै पक्ष थकित र भोक–प्यासले आकुल भए । माता सीताजी पनि प्यासले आकुल हुनुभयो । वरिपरि पानीको खोजी भयो, कतै नभेटिएपछि भगवान् श्रीरामले गंगाजीको स्तुति गर्न थाल्नुभयो ।

‘माता गंगासमो तीर्थ पिता पुस्कर मे वचः’ भन्दै जब श्रीरामले जमिनमा बाण प्रहार गर्नुभयो, पानीको कुण्ड बन्यो । पानी उघाउन जाँदा माता सीताजीले उक्त कुण्डमा सारा ब्रह्माण्डको दर्शन पाउनुभयो । कुण्डको जलमा वहाँको छाया पर्नासाथ भित्रको ढुंगामा वहाँको मूर्ति समेत कुँदिन पुग्यो । यसरी साक्षात् गंगा मातालाई आह्वान गरी भगवान् श्रीरामले उत्पत्ति गर्नुभएको पवित्र कुण्डलाई मातातीर्थ भनिएको हो ।

प्राचीन कालमा घना जंगलमा गाई चराउन आएका गोठालाहरूले कुण्डको नजिकै बसेर खाजा खाइरहेका थिए । एउटा गोठालाले रोटी खान खोज्दा मुखमा रोटी नपरी कुण्ड भएतिर जान थाल्यो । कुण्डमा गएर हेर्दा उसले त्यहाँ आमाको दर्शन पाएछ । घर फर्कने बेलामा गोठालाले आमालाई सँगै घर लाने र आमाबिना एक्लै नफर्कने जिद्दी गर्न थाले ।

त्यसपछि आमाले छोरालाई मृत आमाहरू प्रत्येक वैशाख औंसीको दिन यस तीर्थमा सन्तानलाई आशीर्वाद दिन आउने वाचा गर्दै छोरालाई घर फर्काइन् । यसर्थ यस कुण्डमा आज दिवंगत आमाहरू आई सन्तानले दिएको पिण्ड–तर्पण प्राप्त गरी पूर्वयात्रामा फर्किन्छन् भन्ने विश्वासले यस पवित्रस्थललाई मातातीर्थ भनिएको हो ।