सरकारले मलमा अनुदान कटौति गरेको विरोधमा आन्दोलनको घोषणा

Avatar photo
Dhadingpost
बुधबार, चैत्र १, २०७९

काठमाडौं । काठमाडौंमा बुधबार संयुक्त पत्रकार सम्मेलन गरी काँग्रेस निकट नेपाल किसान महासंघ, एमाले निकट अखिल नेपाल किसान महासंघ र राष्ट्रिय प्रजातन्त्र पार्टी निकट नेपाल राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले मलका दिईदै आएको अनुदान कटौति गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

अनुदान अविलम्ब फिर्ता गराउनका लागि चैत्र ३ गते शुक्रबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने, देशभरका स्थानीय स्तरमा संयुक्त किसान संघर्ष समिति निर्माण गरी धर्ना, जुलुस, चक्काजाम लगायतका आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनीहरुले जनाएका छन् ।

नेपाल सरकारले फागुन २६ गते रासायनिक मलमा दिइदै आएको अनुदान कटौति गर्ने निर्णय गरेको थियो । सरकारको सो निर्णयप्रति देशभरका किसान हकहितसँग सम्बन्धित संघ, संगठनहरुले आपत्ति जनाउँदै तत्काल फिर्ता लिन माग गर्दै दवावस्वरुप आन्दोलन सुरु गरेका छन् ।