धादिङका शंकर अधिकारी पुनः एअनेशिसंको अध्यक्ष

Avatar photo
Dhadingpost
बुधबार, चैत्र १, २०७९

धादिङ । एकीकृत अखिल नेपाल शिक्षक संगठनको छैटौं राष्ट्रिय अधिवेशनबाट अध्यक्षमा पुन धादिङका शंकर अधिकारी चयन भएका छन् । पहिलो कार्यकालमा सुदृढ संगठन, पेशागत समस्या समाधान र व्यवस्थित केन्द्रिय कार्यालयको भवन निमार्णको मुद्धालाई स्थापित गरेका अधिकारी पुन सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । ९९ सदस्यी कार्यसमिति निर्विरोध चयनभएको एअनेशिस धादिङका अध्यक्ष तिलक चेपाङले धादिङपोष्टलाई बताए ।

देशभरमा ४० हजार सदस्य रहेको एअनेशिसं (एकीकृत अखिल नेपाल शिक्षक संगठन) को अधिवेशन फागुन २९ गते एक विशेष समारोहका बीच प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरेका थिए । आज सम्पन्न बन्द सत्रबाट धादिङ मार्पाकका शंकर अधिकारी केन्द्रिय अध्यक्षमा, बागमती प्रदेश अध्यक्ष नीलकण्ठका शंकर अधिकारी पदेन सचिव र गजुरीबाट कोपिला खरेल केन्द्रिय सदस्यमा चयन भएका छन् ।

२०७४ साल फागुन ४, ५ र ६ मा सम्पन्न संगठनको पाँचौं राष्ट्रिय सम्मेलनले शंकर अधिकारी अध्यक्ष रहेको १३५ जनाको केन्द्रिय समिति मध्ये ९३ जना प्रत्यक्ष निर्वाचित गरेको छ थियो । अधिकारीको यो दोस्रो कार्यकाल हो ।

केन्द्रिय कार्यलय भवन निमार्णको मुद्धाले यस अधिवेशनमा स्थान पाउँदा बागमती प्रदेशबाट मात्रै यो अधिवेशनको अवधीमा भवनका लागि २८ लाख संकलन भएको बताईएको छ । जसमा धादिङबाट ३ लाख २२ हजार ९०६ रुपैया संकलन भएको जनाईएको छ ।