नीलकण्ठको हिउँदे सभा, संशोधित बजेट स्वीकृत गर्दै सम्पन्न

Avatar photo
Dhadingpost
सोमवार, फाल्गुन २२, २०७९

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका हिउँदे सभा, संशोधित बजेट, कानुन, ऐन नियम र कार्यविधिहरु स्वीकृत गर्दै सम्पन्न भएको छ । हिउँदे सभामा नगरप्रमुख भीमप्रसाद ढुंगानाले नीति तथा कार्यक्रमको समिक्षा प्रतिवेदन प्रस्तुत गर्दै नीलकण्ठ नगरपालिकाले सेवा प्रवाहमा चुस्तता, पारदर्शिता सहित जनप्रिय कार्यक्रमहरु संचालन गरेको दावी गरेका थिए ।

‘सुत्केरीलाई निशुल्क एम्वुलेन्स, विपन्न परिवारलाई रु। १० हजार अन्तिम संस्कार खर्च, विपतमा तत्काल राहत उद्धार, कृषि सहकारी, उद्यमीलाई विशेष अनुदान सहितको कार्यक्रम, पशुविमामा ९० प्रतिशत अनुदान, ७ वटा नयाँ स्वास्थ्य संस्था स्थापना गरी निशुल्क औषधी तथा ल्याव सेवा, शिक्षा क्षेत्रमा विशेष लगानी, सामाजिक संस्था, सहकारी, सामुदायिक, सांस्कृतिक, जातिय र धार्मिक संस्थाहरुलाई मागको आधारमा सहयोग, घुम्ति सेवा मार्फत टोलटोलमा सेवा प्रवाह नागरिक सेवाको नमुना उदाहरण भएको ढुङ्गानाले बताए ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले तिर्खामुक्त नगरको लागि बृहत खानेपानी योजना, ९५ किलोमिटर नगर चक्रपथ ट्रयाक, धादिङबेसी बजारको करिडोर डि.पि.आर. गरी निर्माण शुरु गरिएको, ‘एक घर एक धारा, नमुना उद्योगग्राम आगामी वर्षमा पुरा गरिने बताए । यस्तै गाउँमा उत्पादनमूखि कार्यक्रम, पर्यटकिय सहरको परिकल्पना, व्यवस्थित पार्किङ प्रणाली सहितको बसपार्क, फोहोर व्यवस्थापन, स्वास्थ्य क्षेत्रमा प्रविधि र पूर्वाधारमा सुधार कार्य, वहुप्राविधिक शिक्षालय सञ्चालन गर्ने, शैक्षिक प्रविधि र पूर्वाधार, कृषि तथा पशुपंक्षी विकास कार्यक्रम, खेलकुद, कला संस्कृति, लैङ्गिक तथा सामाजिक समावेशीकरण जस्ता क्षेत्रमा कार्यक्रम सञ्चालन भैरहेको ढुङ्गानाले बताएका थिए ।

नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्माले अधिवेशनमा डेढ अर्व संसोधित बजेट सार्वजनिक गरेका थिए । उनले आर्थिक वर्ष २०७९/०८० का लागि १ अर्व ४९ करोड ८२ लाख २९ हजार २ सय ५५ रुपैयाँ संसोधित बजेट सार्वजनिक गर्दै संसोधित बजेट चालुतर्फ ८७ करोड ७१ लाख २५ हजार ९ सय ९१ र पुँजिगततर्फ ६२ करोड ११ लाख ३ हजार २ सय ६४ रुपियाँ विनियोजन गरेको बताए ।

पूर्व स्वीकृत वजेट चालुतर्फ ८५ करोड ६ लाख ५५ हजार ९ सय ९१ र पुँजीगततर्फ ६३ करोड २ लाख ३ हजार २ सय ६४ रुपियाँ गरी कुल १ अर्व ४८ करोड ८ लाख ५९ हजार २ सय ५५ रहेको थियो । चालु आर्थिक वर्षको बजेट १ करोड ७३ हजार ७० लाख रुपियाँले बृद्धि हुन आउने उपप्रमुख विश्वकर्माले बताए। चालु आर्थिक वर्षको आर्थिक विकासतर्फ विनियोजित १२ करोड २ लाख ६४ हजार ४ सय ४६ रुपियाँमध्ये १३।०४ प्रतिशत खर्च भएको उनले बताए । सामाजिक विकासतर्फ ६१ करोड ७९ लाख ६९ हजार ९ सय ४५ रुपियाँमध्ये ५३.७१ प्रतिशत खर्च र पूर्वाधार तर्फ ५० करोड २१ लाख २६ हजार ७ सय ६४ रुपियाँमध्ये १७.४५ प्रतिशत खर्च भएको उपमेयर विश्वकर्माले बताए ।