बेनीघाट रोराङमा विवेकको १०० दिन, के-के गरे काम (सूची सहित)

Avatar photo
नारायण सिलवाल
सोमवार, भदौ २०, २०७९

धादिङ । बैशाख ३० गते सम्पन्न स्थानीय तह को निर्वाचनमा धादिङको बेनीघाट रोराङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका कृष्ण बहादुर थपलिया (विवेक) ले प्रतिद्वन्दी एमालेका देव प्रसाद त्रिपाठी भन्दा २ हजार ६०८ मत बढी ल्याउँदै विजयी भए । विवेकले अध्यक्षका लागि ७,६८० मत ल्याउँदा एमालेका त्रिपाठी ५,०७२ मतमा सिमित बनेका थिए ।

विवेकलाई बेनीघाट रोराङमा कार्यपालिकाको पूर्ण साथ छ, १० वटा वडा मध्य ६ वटा वडा माओवादीले जितेको छ । गाउँपालिकाले चाहँदा कतै अवरोध हुने अवस्थामा छैनन् उनी । तसर्थ पनि विवेकलाई यो ५ वर्ष सुनौलो अवस्था छ जनताको सेवा गर्ने र आफ्नो विकासको भिजन लागु गर्ने ।

आफ्नो परिवारको तीन सदस्य जनयुद्धमा गुमाएका विवेक जनयुद्धको भट्टिबाट खारिएर आएको एक असल सिपाही हुन् । स्वभाव जन्य केहि कमिकमजोरी देखिएपनि जनताको सेवा र सामाजिक काममा उनको छुट्टै पहिचान छ । उनी निर्वाचित भए सँगै बेनीघाट रोराङमा उत्कृष्ट काम गरेर देखाउँछु भनेर उद्घोष गरेका विवेकले १०० दिनमा के के काम गरे त खोज्ने प्रयास गरेका छौं ।

शैक्षिक सुधारको लागि गरिएका प्रयासहरु
१. बेनीघाट रोराङ गाउँपालिका वडा नं, ९ को थानसिङ चेपाङ बस्तीमा मंगलादेवी बाल विकास केन्द्रको स्थापना
२. बेनीघाट रोराङ गाउँपालिका वडा नं १ च्यात्राकमा श्री बुद्ध बाल विकास केन्द्रको स्थापना
३. शैक्षिक गुणस्तर वृद्धिको लागि सरोकारवालाहरु सँग अन्तरक्रिया एवम् निरन्तर अनुगमन
४. प्रारम्भिक बालविकास केन्द्र सहजकर्ता (स.का.) को लागि तालिम व्यवस्था
५. बेनीघाट रोराङ गाउँपालिका अन्तर्गतका विद्यालय प्राङ्‌गणहरुमा फुलवारी योजना लागु

स्वास्थ्य तथा सरसफाई सुधारको लागि गरिएका प्रयासहरु
१. बेनीघाट रोराङ गाउँपालिका वडा नं. २ चोतेसमा चोतेस स्वास्थ्य इकाई केन्द्र स्थापना
२. खानेपानी बोर्डको स्थापना
३. कुपोषण हटाई पोषणयुक्त गाउँपालिका बनाउनको लागि विभिन्न सरोकारवाला तथा सो क्षेत्रकासँग सम्बन्धित संघ संस्थाहरुसँग अन्तरक्रिया
४. दिर्घकालिन फोहोर व्यवस्थापनको लागि योजना निमार्ण सुरु

कृषि तथा अन्य (प्रसासनिक तथा सामाजिक) सुधारको लागि गरिएका प्रयासहरु
१. कृषि तथा पशुपन्छी पालन विकासको लागि अनुदान र अनुगमन
२. बेनीघाट रोराङ गाउँपालिकावडा नं.७ को कृषक तालिम केन्द्रमा आधुनिक बाख्रा पकेट क्षेत्र विस्तार परियोजना संचालन
३. बेनीघाट रोराङ वडा नं. ३ को ओर्वाङमा व्यावसायिक रूपमा एभोगाडो पकेट क्षेत्र बनाउनको लागि किसानहरुलाई बिरुवा वितरण
४. सहिद परिवार आय-आर्जनको कार्यक्रम
५. विभिन्न वडाका अपाङ्गता भएका व्यक्तिहरुलाई बाख्रा वितरण कार्यक्रम
६. पालिका अन्तर्गत सम्पूर्ण कर्मचारीहरुको मासिक बैठक बस्ने र महिनाको प्रगति विवरण पेश गर्ने परिपाटीको विकास
७. विभिन्न संघसंस्थाहरुलाई एकद्वार प्रणालीबाट समुदायमा जानको लागि संघ संस्थाहरु सँग समन्वय तथा निर्देशन