नेपाल र केन्या बीचको पहिलो टी २० खेल आज, नेपालले ३ खेलाडीले गुमाउने

Avatar photo
Dhadingpost
भदौ ९, २०७९

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले केन्यासँगको पाँच टी-२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेल आज (बिहीबार) खेल्दैछ । आजको खेलमा नेपालले तीन खेलाडीले गुमाउने भएको छ । पहिलो टि २० आई खेल बिहीबार केन्याको नैरोबीमा रहेको जिमखान क्लब ग्राउन्डमा नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा सुरु हुनेछ । सबै टि२ ० आई खेल दिउँसो ३ : ४५ मा हुनेछन् । तीन एकदिवसिय अभ्यास खेल भने दिउँसो १२ : ४५ देखि सुरु हुनेछ ।

नेपाल र केन्याबीच पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल हुन लागेको हो । यस्तै टी-२० क्रिकेटमा नेपाल र केन्या झण्डै एक दशकपछि पहिलो पटक खेल्न लागेका हुन् । नेपालले अफ्रिकन राष्ट्र केन्या भ्रमण गरेको पनि यो पहिलो पटक हो । नेपालका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरको लागि पनि नेपाली टिमबाट यो पहिलो शृंखला हुनेछ ।

आजको खेलमा नेपालले आक्रामक अलराउन्डर आदिल अन्सारी, स्पिनर बसिर अहमद र साहब आलमलाई गुमाउने भएको हो । भिसा समस्याका कारण सोमबार ११ खेलाडी, टेक्निकल एनालिष्ट रमण शिवाकोटी, फिजियो विक्रम न्यौपाने र प्रशिक्षक मनोज प्रभाकर मात्र केन्या भ्रमण गरेका थिए । सोमपाल कामी, विवेक यादव, आदिल, बसिर र साहब भने भिसा समस्याको कारण जान पाएका थिएनन् । त्यस्तै केन्या टोलीको लागि नेपाली टोलीका क्रिकेट म्यानेजर सुनिल महासेठ र ट्रेनर अब्दुल सतार भिसा नआउँदा जान पाएका थिएनन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार उक्त सात जनाको पुनस् भिसाको लागि पठाएको थियो । विवेक र सोमपालको मंगलबार राती नै भिसा आएको हुँदा उनीहरु आज बिहान ११ बजे त्यसतर्फ प्रस्थान गरेका थिए ।मल्लका अनुसार बाँकी तीन खेलाडी बिहिबार त्यसतर्फ जानेछन् । त्यसैको कारण आदिल, साहब र बसिरले पहिलो खेल गुमाउने पक्का भएको हो । नेपालबाट केन्या पुग्न झण्डै १६ घण्टा लाग्छ ।

नेपाल र केन्याबीच सन् २०१३ पछि पहिलो पटक टी-२० फर्म्याटमा खेल हुन लागेको हो । एकदिवशीयमा नेपाल र केन्या पछिल्लो पटक सन् २०१८ मा खेलेका थिए । तर टी-२० मा भने लामो समयपछि यी दुई टोली भिड्न लागेका हुन् । सन् २०१३ मा युएईमा भएको टी-२० विश्वकप क्वालिफायरमा नेपालले केन्यालाई ६ विकेटले पराजित गरेको थियो । त्यस खेल खेलेका एक मात्र खेलाडी ज्ञानेन्द्र मल्ल अहिले नेपाली टिममा छन् ।

केन्या पुगी सकेका ११ खेलाडी :
सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख (विकेटकिपर), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, करण केसी, ज्ञानेन्द्र मल्ल, अर्जुन साउद (विकेटकिपर), पवन सरार्फ र किशोर महतो ।