ताइवानको सिमानामा चिनियाँ सेनाद्वारा क्षेप्यास्त्र प्रहार

Avatar photo
Dhadingpost
बिहिबार, साउन १९, २०७९

काठमाडौं । चिनियाँ सेनाले बिहीबार ताइवानको सीमा क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेको छ । चिनले दक्षिणपश्चिमी ताइवान नजिकैको समुद्रमा थुप्रै क्षेप्यास्त्रहरू प्रहार गरेको ताइवानको रक्षा मन्त्रालयले जनाएको हो । चिनियाँ सेनाले गरेको मिसाइल प्रहारलाई ताइवानको रक्षा मन्त्रालयले ुतर्कहीन कार्यु भएको संज्ञा दिँदै दुश्मनका गतिविधि नजिकबाट नियालिरहेको र त्यसको उपयुक्त कदम चाल्ने जनाएको छ ।

अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेसँगै आक्रामक बनेको चीनले केही दिनयता ताइवानको सीमा क्षेत्र सैन्य अभ्यास गर्दै आएको छ । बिहीबार चीनले गरेको सैन्य अभ्यासलाई अहिलेसम्मकै ठूलो अभ्यास भनिएको छ ।

यसअघि पनि चिनियाँ सेनाको ताइवानको समुद्री क्षेत्रमा ‘लाइभ फायर’ को अभ्यास गरिरहेको चिनियाँ टेलिभिजन सीसीटीभीले जनाएको छ । बिहीबार बिहान भने चीनले ताइवानको हवाइ र समुद्री मार्गमा नै असर पर्ने गरी अभ्यास सैन्य अभ्यास गरेको हो ।

अमेरिकी सभामुख पेलोसीको ताइवान भ्रमणलाई लिएर चीनले आपत्ति जनाउँदै आएको छ । पेलोसी ताइपेइमा अवतरण गरेसँगै उसले अमेरिकाले एक चीन नीतिको गम्भीर रुपमा उल्लंघन गरेको भन्दै दुई देशबीच सम्बन्धमा यसको असर पर्ने चेतावनी दिएको थियो । तस्बिर : साउथ चाइना मर्निङ पोस्ट