रनिल विक्रमसिङ्घ श्रीलङ्काको राष्ट्रपति निर्वाचित

Avatar photo
Dhadingpost
बिहिबार, साउन ५, २०७९

एजेन्सी । श्रीलङ्कामा सांसदहरूले प्रधानमन्त्री रनिल विक्रमसिङ्घलाई आममानिसमाझ रहेको उनको अलोकप्रियताबीच देशको नयाँ राष्ट्रपतिका रूपमा निर्वाचित गरेका छन् । मतदानपछि संसदमा बोल्दै ७३ वर्षीय विक्रमसिङ्घले देश ‘निकै कठिन अवस्थामा’ रहेको भन्दै आफ्ना राजनीतिक प्रतिस्पर्धीहरूलाई समेत आफ्नो सरकारसँग देशको हितका लागि काम गर्न आग्रह गरे ।

उनको आर्थिक क्षेत्रको अनुभवका कारण भन्दै श्रीलङ्काको सत्तारूढ दल पोदुजन पेरुमुन पार्टीका बहुमत सांसदले समेत विक्रमसिङ्घलाई सघाएका थिए । राजपक्षहरूले नेतृत्व गरेको पोदुजन पेरुमुन पार्टी गत निर्वाचनमा विजयी भएको थियो ।

विक्रमसिङ्घसामु टाट पल्टिएको देशलाई सहज अवस्थासम्म पुर्‍याउने र महिनौँको विरोध प्रदर्शनपछि बिग्रिएको सार्वजनिक सुव्यवस्था पुनर्स्थापित गर्ने जिम्मेवारी छ । उनले बुधवार संसद्‌मा भएको मतदानमा प्रमुख प्रतिपक्षी दलले समर्थन गरेका डल्लस अलाहपेरुमलाई पराजित गरेका हुन् । गोटाबय राजपक्षको सरकारबाट राजीनामा दिएका अलाहपेरुम श्रीलङ्काको सत्तारूढ दलका वरिष्ठ सांसद पनि हुन् ।

गत साता तत्कालीन राष्ट्रपति गोटाबय राजपक्ष देश छाडेर भागेका थिए। हजारौँ प्रदर्शनकारी राष्ट्रपति निवास तथा अन्य सरकारी कार्यालयहरूमा बलजफती छिरेर राजपक्षको राजीनामा माग गरेपछि उनी माल्दिभ्स हुँदै सिङ्गापुर पुगेका थिए ।

प्रदर्शनकारीहरूले गत मे महिनामा प्रधानमन्त्री नियुक्त भएका विक्रमसिङ्घको समेत राजीनामा माग गरेका थिए। ६ पटक प्रधानमन्त्री भइसकेका उनी यसअघि दुईपटक राष्ट्रपतीय प्रतिस्पर्धामा सहभागी भएका थिए । विक्रमसिङ्घले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग देश धराशायी हुनबाट जोगाउन आर्थिक सहायताका लागि संवाद पुन: सुरु गर्न चाहेका छन् । त्यस्ता संवादमा उनी यसअघि देखी नै सहभागी छन् ।