टेक्सासको एक विद्यालयमा गोली चल्दा १८ जना बालबालिकाको मृत्यु

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ ११, २०७९

एजेन्सी । अमेरिकाको टेक्सास स्थित एक विद्यालयमा गोली चल्दा विद्यार्थी र शिक्षकसहित कम्तिमा १८ जनाको मृत्यु भएको छ । अमेरिकाको सातौं ठूलो सहर सान एन्टोनियोबाट करिब ८३ माइल (१३३ किलोमिटर) टाढा रहेको उभाल्डे सहरमा यो घटना भएको हो। अमेरिकी मिडियाले भने मारिने २१ जना पुगेको र यसमा १८ जना बालबालिका र तीन जना वयस्क रहेको बताएको छ ।

घटना भएको रोब इलिमेन्टरी स्कूल एक प्राथमिक विद्यालय हो (यसका विद्यार्थीहरू पाँचदेखि ११ वर्षसम्मका हुन्छन्। टेक्सासका गभर्नर ग्रेग एबोटले संदिग्ध व्यक्तिको नाम १८ वर्षीय पुरुष साल्भाडोर रामोस रहेको बताएका छन् । एबोटका अनुसार रामोस आफ्नो गाडी त्यागेर पिस्तोल र सम्भवतः राइफल लिएर विद्यालयमा गएका थिए । रामोसलाई घटनास्थलमा पठाइएका प्रहरीले मारिसकेको बताइएको छ ।

प्रहरीले पनि स्थानीय समयअनुसार बिहान करिब ११ः३२ बजे रोब इलिमेन्टरी स्कुलमा घटना भएको र संदिग्ध व्यक्तिको मृत्यु भएको पुष्टि भएको बीबीसीले जनाएको छ ।