चीनसँग भएको सम्झौता ९ बुँदे पत्रमा के छ ?

Avatar photo
Dhadingpost
आइतवार, चैत्र १३, २०७८

काठमाडौं । नेपाल र चीनका बीचमा विभिन्न ९ बुँदे समझदारीमा हस्ताक्षर भएको छ । शनिबार नेपाल र चीनका परराष्ट्रमन्त्रीसहित प्रतिनिधिमण्डस्तरीय वार्ताका क्रममा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा ९ वटा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

आर्थिक तथा प्राविधिक सहयोग, प्रसारण लाइनको सम्भाव्यता अध्ययन, चिनियाँ स्वाथ्यकर्मीको टोलीले नेपालमा सेवा प्रवाह गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै, खोप हस्तान्तरण र मर्मत सम्भार, स्तरोन्नति गरिएको अरनिको राजमार्ग हस्तान्तरण एवम् घाँस निर्यातलगायत समझदारीपत्रमा पनि हस्ताक्षर भएको जनाइएको छ। परराष्ट्र मन्त्रालयका अनुसार नेपाल र चीनबीच आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी, नेपाल-चीन अन्तरदेशीय रेलवे परियोजनाको सम्भाव्यता अध्ययन, नेपाल-चीन पावर ग्रिड इन्टर कनेक्सन सम्भाव्यता अध्ययन गर्ने समति भएको हो।

त्यस्तै नेपालबाट घाँस निर्यात गर्ने समझदारी, चीनमा, तेस्रो चरणअन्तर्गत अरनीको राजमार्ग स्तरोन्नति, रेलवे क्षेत्रमा सहयोग, कोरोनाविरुद्धको खोप सम्झौता सम्बन्धमा सहमति भएको हो।

त्यस्तै चितवनस्थित बिपी कोइराला क्यान्सर अस्पतालमा सेवा गर्न चिनियाँ चिकित्सक टोली पठाउनेसम्बन्धी समझदारीमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यसअघि परराष्ट्रमन्त्री खड्का र वाङबीच ‘वान टु वान’ वार्ता भएको थियो। भेटवार्तामा दुई देशको हित सम्बन्धमा कुराकानी भएको बताइएको छ।

सिंहदरवारमा आयोजित द्विपक्षीय वार्तापछि विदेशमन्त्री वाङ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। त्यहाँ उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए। शिष्टाचार भेटवार्तापछि कास्कीको पोखरामा निर्माणधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरिएको थियो।

यी हुन् नेपाल र चीनबीचको समझदारीमा हस्ताक्षर भएका ९ बुँदा:
१. आर्थिक तथा प्राविधिक सहयोग सम्झौता
२. नेपालमा चीन–नेपाल सीमापार चल्ने रेलमार्गसम्बन्धी परियोजनाको सम्भाव्यता अध्ययनका लागि प्राविधिक सहायता योजना
३. चीन–नेपाल पावर ग्रिड इन्टरकम (प्रसारण लाइन)को सम्भाव्यता अध्ययनमा सहयोग
४. नेपालबाट चीनमा घाँस निकासीको सुरक्षा तथा स्वास्थ्यसम्बन्धी मापदण्ड
५. चीन पैठारी हुने सामानमा ९८ प्रतिशत भन्सार शूल्क मुक्त गर्ने विनिमय पत्र
६. अरनिको राजमार्ग मर्मतसम्भार (तेस्रो चरण) आयोजनाको हस्तान्तरण प्रमाणपत्र
७. रेलवे क्षेत्रमा सहयोग अभिवृद्धिसम्बन्धी सातौं बैठकको निर्णय
८. चीनको सहायतमा नेपाल आएको कोरोनाविरुद्धको खोपको वितरण र स्वीकृतिको प्रमाण पत्र (पाचौं र छैटौं चरणमा आएको ४० लाख खोप)
९. चीनको चिकित्सकीय टोली नेपाल पठाउन आवश्यक मापदण्डसम्बन्धी सम्झौता