धादिङद्वारा काभ्रे १५५ रनले पराजित

Avatar photo
Dhadingpost
चैत्र ६, २०७८

धादिङ । चितवनको भरतपुरस्थित धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माणाधिन गौतम बुद्ध रंगशालाको नमुना मैदानमा आइतबार सम्पन्न सेमिफाइनल खेलमा धादिङले काभ्रेलाई १५५ रनले हराउँदै फाईनल पुगेकाे छ ।

बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा जारी पहिलो संस्करणको प्रतियोगितामा धादिङले रसुवा, काठमाडौं र काभ्रेलाई हराउँदै फाईनल यात्रा तय गरेकाे हाे ।

कडा प्रतिस्पर्धा हुने अाकलन गरिएकाे धादिङ र काभ्रेको सेमीफाईनलमा राष्ट्रिय टोलीबाट समेत खेलिसकेका काभ्रेका सुवास खकुरेल ४ रनमा र यू १९ राष्ट्रिय टोलीका विवेक रानामगर १ रनमा आउट भए सँगै धादिङले फराकिलो रनले विजयी बन्याे ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको धादिङले निर्धारित २० ओभरमा मात्र ५ विकेट गुमाएर १९५ रनको विशाल योगफल तयार पारेको थियो ।

धादिङको विशाल योगफलका लागि अमृत थापाले ३० बलमा २ छक्का र ७ चौकाको मद्दतमा सर्वाधिक ५४ रनको अर्धशतकीय इनिङ खेले ।

यस्तै आरम्भ तिमल्सिनाले ३८ बलमा १ छक्का र ५ चौंकासहित ४४ रन जोड्दा स्वप्निल अधिकारी ३५ रनमा अविजित रहे ।

बलिङमा काभ्रेका लागि समिर हुमागाईं र भिबेक न्यौपानेले २-२ विकेट लिए । लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको काभ्रे १४ ओभर ३ बलमा ३९ रन बनाएर अल आउट भयो ।

धादिङका लागि सन्देश सापकोटाले ४ तथा श्याम त्रिपाठ्ठीले ३ विकेट लिए । यस्तै रुपेश भुजेलले २ र श्री कृष्ण उपाध्यायले १ विकेट लिए ।

यस अघि अाजै भएकाे सेमिफाइनलमा चितवनलाई हराउँदै मकवानपुर फाईनल प्रवेस गरेकाे थियाे । साेमबार बिहान ९:३० बजे देखि धादिङ र मकवानपुर बीच फाईनल खेल हुनेछ ।