धादिङ । धादिङको फुर्केखोला स्थित निमार्णाधिन सहिद गेट निमार्णले पूर्णता पाउने भएको छ । बागमती प्रदेशसरका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलका अनुसार तत्काल उक्त सहिद गेटको बाँकी काम पुरा गर्न २० लाख प्रदेश सरकारले विनियोजन गरेको छ ।
वि। स। ०६८ साल असार २४ गते एक भव्य कार्यक्रमका बीच तात्कालिन माओवादी केन्द्रका नेता तथा संविधान सभा सदस्य पुष्प विक्रम मल्लद्वारा शिलान्यास भएको फुर्केखोला स्थित धादिङको ऐतिहासिक सहिद गेटले अझै पुर्णता पाउन सकेन भनेर धादिङपोष्टले पटक-पटक समाचार प्रकाशित गरे सँगै प्रदेश सरकारले वजेट विनियोजन गरि यस सहिद गेटको कामलाई पूर्णता दिन लागेको हो ।
धादिङपोष्टले
मन्त्री राजेन्द्र पाण्डे र जमकट्टेलले आफ्नै क्षेत्रमा गर्न नसकेका ३ काम
दश वर्षमा पनि पुरा भएन धादिङको ऐतिहासिक सहिद गेट
धादिङको २ सहिद गेट ९ वर्षमा समेत पुरा भएन
६ वर्षमा पनि सम्पन्न भएन सहिद गेट
लगायतका शिर्षक राखेर पटक-पटक समाचार प्रकाशित गरेको थियो ।
माओवादीले निमार्णको सुरुवात गरेको यस गेट निमार्णको सुरु सँगै ०६८ साल पछि तात्कालिन माओवादी नेताहरु पुष्प विक्रम १ पटक संविधान सभा सदस्य, शालिकराम जमकट्टेल १ पटक संविधान सभा सदस्य, प्रदेश सदस्य हुँदै प्रदेश सरकार बने देखि निरन्तर मन्त्रि, कल्पना धमला संविधान सभा सदस्य मन्त्री, रविन्द्र प्रताप शाह संविधान सभा सदस्य, वीरबहादुर तामाङ संविधान सभा सदस्य, जगत सिंखडा बागमती प्रदेश सांसद बनि सकेका छन् । केन्द्रिय सत्ता र प्रदेश सत्ता आफ्नै हुँदा समेत यो गेटलाई पूर्णता दिन नसक्दा धादिङमा माओवादी कार्यकर्ता, सहिद तथा वेपत्ता परिवारहरुले यस सहिद गेटको कामले पूर्णतापाउन नसक्दा आलोचना गर्दै आएका थिए ।