
काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को तेस्रो खेलमा नेपालले आज सोमबार क्यानडा सँग खेल्दै छ । समूह बी को शीर्ष स्थानमा रहेको नेपाल र क्यानडाबीचको खेल ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा दिउँसो ३:४५ मा हुनेछ ।
नेपाल विजयी भएमा शीर्षस्थानमा रहँदै समूह विजेताको रुपमा सेमिफाइनल खेल्नेछ । नेपाल सेमिफाइनल खेल्न सामान्य अन्तरले पराजित हुँदा पनि पुग्नेछ । नेपाल २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । नेपालको नेटरनरेट ४.३७५ छ । क्यानडा २ खेलमा १ मा जित र १ म हार सहित २ अंकका साथ दोस्रो स्थानमा छ । क्यानडाको रेटरनरेट २.५१२ छ । क्यानडाले अन्तिम खेलमा नेपाललाई पराजित गरेपनि नेटरनरेटमा ध्यान दिनुपर्ने हुन्छ ।
अन्यथा समान चार अंकका साथ नेपाल नेटरनरेटमा अघि रहँदै नेपाल सेमिफाइनल खेल्नेछ । नेपालको नेटरनरेटलाई पछि पार्न क्यानडाले लगभग ३७ रनभन्दा माथिको अन्तरले जित्नुपर्छ । लक्ष्य पछ्याउँदा कति ओभर अघि जित्ने योगफलमा निर्भर हुनेछ । यता घरेलु टोली ओमान भने नेपालको जित चाहन्छ ।
नेपालले क्यानडालाई हराउँदा ओमानले फिलिपिन्सलाई जितेमात्र सेमिफाइनलमा पुग्नेछ । तर नेपाल पराजित भएमा ओमानले फिलिपिन्सलाई फराकिलो अन्तरले हराउनुपर्छ । रनको अन्तर धेरै फराकिलो हुनुपर्छ । ओमानको नेटरनरेट माइसन ०.५६३ छ । ओमानले अहिलको अवस्थामा नेपाल र क्यानडालाई नेटरनरेटमा पछि पार्न १ सय ७० रनमाथिले हराउनुपर्छ ।