नेपाल फिलिपिन्स विरुद्ध १३६ रनले विजयी

Avatar photo
Dhadingpost
शनिबार, फाल्गुन ७, २०७८

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले फिलिपिन्सलाई १ सय ३६ रनले पराजित गर्दै सेमिफाइनल नजिक पुगेको छ ।

ओमानको अल अमेरात क्रिकेट मैदानमा २ सय १९ रनको लक्ष्य पछ्याएको फिलिपिन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै मात्र ८२ रन जोड्न सक्यो । दुई खेलबाट चार अंक जोडेर नेपाल समूहको शीर्ष स्थानमा पुगेको छ ।

कमजोर प्रतिस्पर्धी फिलिपिन्सलाई सस्तैमा समेट्न कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए । उनले ४ ओभरमा ९ रनमात्र खर्चिए । गुल्सन झा, जितेन्द्र मुखिया, अविनाश बोहोरा, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले १र१ विकेट लिए ।

फिलिपिन्सका ड्यानिएल स्मिथले २० र जोर्डन एलेग्राले २७ रन बनाए । यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले ओपनर कुशल भुर्तेलको शतकीय योगदानमा २१८ रनको विशाल योगफल खडा गरेको थियो । कुशलले ६१ बलमा १३ चौका र १ छक्कासहित अविजित १०४ रन बनाए । उनको यो टी-२० अन्तर्राष्ट्रियमा पहिलो शतक हो ।

त्यस्तै दीपेन्द्रसिंह ऐरीले ८३ रनको योगदान गरे । कुशल र दीपेन्द्रले दोस्रो तेस्रो विकेटका लागि १७१ रनको साझेदारी गरेका थिए । नेपालले शुक्रबार ओमनलाई पराजित गरेको थियो ।