नेपालद्वारा फिलिपिन्सलाई २१९ को टार्गेट

Avatar photo
Dhadingpost
शनिबार, फाल्गुन ७, २०७८

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले फिलिपिन्सलाई २ सय १९ रनको लक्ष्य दिएको छ ।

ओमानको अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय १८ रन जोडेको हो ।

मस्कटमा रहेको ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ मा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय १८ रन बनायो । ओपनर कुशल भुर्तेल ६१ बलमा १३ चौका र १ छक्कासहित १ सय ४ रनको अविजित शतकीय इनिङ खेले । कुशलले ५७ बलमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय शतक प्रहार गरेका गरेका थिए । कुशल नेपालबाट टि२० आईमा शतक प्रहार गर्ने तेस्रो खेलाडी हुन् ।

दीपेन्द्रसिंह ऐरी ४७ बलमा ६ चौका र ४ छक्का सहित ८३ रनमा आउट भए । गुरभुपेन्द्रर चोहानले १९ औं ओभरको पाँचौं बलमा बोल्ड गरेपछि दीपेन्द्र शतकबाट चुकेका थिए । तेस्रो विकेटका लागि कुशल र दीपेन्द्रले १ सय ७१ रनको शतकीय साझेदारी गरे । जुन नेपाली टि२० आईमा कुनैपनि विकेटका लागि भएको उच्च साझेदारी हो ।

कुशल नेपालबाट टि२० आईमा शतक बनाउने तेस्रो खेलाडी हुन् । यसअघि नेपालबाट २०१९ को १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भुटानविरुद्ध ज्ञानेन्द्र मल्लले ५५ बलमा १ सय ७ रनको शतकीय इनिङ खेलेका थिए । पारस खड्काले २०१९ मा सिंगापुरविरुद्ध ५२ बलमा १ सय ६ रनको अविजित शतकीय इनिङ खेल्दै टि२० आईमा शतक प्रहार गर्ने नेपालबाट पहिलो खेलाडी बनेका थिए ।

ओपनर आसिफ शेखले आफूले सामना गरेको पहिलो बलमै (गोल्डेन डक) भए । तीव्र गतिका बलर ड्यानियल स्मिथले दोस्रो ओभरको पहिलो बलमै आसिफलाई एलबीडब्लू आउट गर्दै पेभेलिएन फर्काए ।

कुशल मल्ल १० बलमा २ चौकासहित १२ रनमा आउट भए । पाँचौं ओभरको दोस्रो बलमा कुशल मल्ललाई मिग्गी पोडोस्कीले मुजाममी शहजादबाट क्याच गराएका थिए । लोकेश बम ६ रनमा अविजित रहे । फिलिपिन्सका ड्यानियल स्मिथ, पोडोस्की र चोहानले १-१ विकेट लिए ।

हिजो भएको पहिलो खेलमा उत्कृष्ट बलिङ गर्दै नेपालले ओमनलाई पराजित गरेको थियो ।