चार बुँदे निर्णय गर्दै कांग्रेस धादिङको बैठक सम्पन्न

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन ६, २०७८

धादिङ । नेपाली कांग्रेस धादिङको बैठकले चार बुँदे निर्णय गर्दै सकिएको छ । सभापति रामनाथ अधिकारीको सभापतित्वमा बीपी स्मृति भवन, धादिङबेसीमा बसेको नेपाली कांग्रेस, जिल्ला कार्यसमिति, धादिङको बैठक पछि विज्ञप्ती मार्फत चार बुँदे निर्णय सार्वजनिक गरेको हो ।

यी हुन् ४ बुँदे निर्णयहरुः
१. निर्वाचन हुन बाँकी धादिङको प्रतिनिधिसभा क्षेत्र नं.१ को महासमिति सदस्य र रुबिभ्याली गाउँपालिका कार्यसमिति नेपाली कांग्रेस, केन्द्रीय कार्यालयको परिपत्रबमोजिम सर्वसम्मतिमा चयन गर्नका लागि वा निर्वाचनका लागि धादिङमा रहेका डेमोक्रेटिक लयर्स एसोसिएसन(डिएलए), प्रजातन्त्रवादी प्राध्यापक संघ र नेपाल शिक्षक संघसँगको समन्वयमा निर्वाचन अधिकृत तोक्ने र निर्वाचन क्यालेन्डर बनाउने अधिकार जिल्ला सभापतिलाई दिने ।

२. स्थानीय तह निर्वाचन तयारीसम्बन्धी (उम्मेदवार सिफारिस तथा छनोटबाहेक):
क. स्थानीय तहको निर्वाचन आगामी २०७९ बैशाख ३० गते सम्पन्न गर्ने सरकारको निर्णयको स्वागत गर्दै पार्टीलाई विजयी गराउनका लागि सोको तयारीमा सम्पूर्ण ध्यान केन्द्रित गरी माथिल्लो र मातहतका तहसँगको समन्वयमा कार्यक्रम तथा गतिविधिहरू तय गरी सञ्चालन गर्नगराउन मातहतका सबै कार्यसमितिहरू, भ्रातृ तथा शुभेच्छुक संस्थाहरूलाई र सहभागिता जनाउन पार्टीका सदस्यहरूलाई आग्रह गर्ने ।

ख. केन्द्रीय कार्यसम्पादन समितिको गत फागुन ३ गतेको बैठकको निर्णयबमोजिमको आगामी फागुन २० गतेदेखि चैत २० गतेसम्म सञ्चालन हुने “घर-घर जाऔँ, कांग्रेस जिताऔँ” अभियानलाई केन्द्रीय कार्यालयको परिपत्र/निर्देशनअनुरूपको ढाँचामा प्रभावकारी रूपमा सञ्चालन गर्ने र कार्यक्रममा सक्रियतापूर्वक सहभागिता जनाउन मातहतका सबै कार्यसमितिहरू, भ्रातृ तथा शुभेच्छुक संस्थाहरू र पार्टीका सदस्यहरूलाई आग्रह गर्ने ।

ग. अर्को नियमित बैठक नबस्दासम्म वा कार्यसम्पादन समिति गठन नहुँदासम्म स्थानीय तह निर्वाचन तयारीसम्बन्धी(उम्मेदवार सिफारिस तथा छनोटबाहेक) आकस्मिक रूपमा वा थप निर्णय गर्नुपर्ने भएमा आवश्यकताबमोजिम पदाधिकारी तथा नेताहरूको बैठक बोलाउने वा परामर्श लिने वा समन्वय गर्ने अधिकार जिल्ला सभापतिलाई दिने ।

३. जिल्ला सभापति रामनाथ अधिकारीले टोल कार्यसमिति गठनका बारेमा तथ्यगत मौखिक प्रगति प्रतिवेदन पेश गर्नुभयो । वडा कार्यसमितिहरूले सञ्चालन गरिरहेका टोल कार्यसमिति गठन कार्यक्रमप्रति सन्तोष व्यक्त गर्दै गठन कार्यक्रम सम्पन्न गरेका वडा कार्यसमितिहरूलाई धन्यवाद प्रकट गर्ने, टोल भेलामा सक्रिय सहभागिता जनाउने पार्टीका सदस्यहरूलाई धन्यवाद तथा आभार प्रकट गर्ने, टोल कार्यसमितिको जिम्मेवारी पाउने सभापति, पदाधिकारी र सदस्यहरू सबैलाई बधाई तथा शुभकामना व्यक्त गर्ने र गठन गर्न बाँकी टोल कार्यसमितिहरू तत्काल गठन गर्न वडा कार्यसमितिहरूलाई आग्रह गर्ने ।

४. जिल्ला कार्यसमितिका सभापति तथा पदाधिकारीका लागि रु. पाँच सय र सदस्यका लागि रु. दुई सय मासिक लेवी निर्धारण गर्ने