अस्तव्यस्त बागमती प्रदेशका अस्पतालहरु

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन ६, २०७८

धादिङ । धादिङ जिल्ला अस्पतलाले गुणस्तर र सेवाका हिसावले मापन गर्दा बाग्मती प्रदेश भरमा ९३ प्रतिशत अकं ल्याउँदै प्रथम बन्यो । त्यसका लागि मेसु डा. त्रिभुवनचन्द्र झा र अध्यक्ष महेन्द्र धमलाले महत्वपूर्ण भुमिका निभाएका थिए । मेसु झालाई डा. झालाई बागमती प्रदेश सरकारले ५० शैय्याको धादिङ जिल्ला अस्पतालको नेतृत्वबाट हटाएर १५ शैय्याको सिन्धुपाल्चोक अस्पताल सरुवा गरेको छ भने अध्यक्ष धमलाको नियुक्ती खारेज गरेको छ ।

धमलाले आफ्नो अवधिमा जतिकाम गर्न सकियो काममा सहयोग गर्ने सबैलाई धन्यावाद दिँदै अध्यक्षबाट विदा भएको जनाएका छन् भने डा. झा भने सरुवामा सन्तुष्ट छैनन् । उनी भन्छन्, ‘व्यक्तिगत रुपमा मलाई कुनै असर गरेको छैन, सरकारले पठाएको ठाउँमा जान्छु,’ उनले भने, ‘राम्रो काम गरिरहेकाले तल झार्दा त त्यसले पक्कै राम्रो सन्देश जाँदैन् ।’

यस्तै भक्तपुर अस्पतालकी निवर्तमान प्रमुख डा. सुमित्रा गौतमले धादिङ अस्पतालमा गरिएको सरुवा मान्य नभएको बताउँदैं यसमा पुनरावलोकन नभए राजीनामा दिने बताइसकेकी छन् । सरकारको मुल्यांकनमा ३८ अंक ल्याएको अस्पताललाई ८२ अंकमा पु¥याएको, आईसीयुलगायतका सेवा विस्तार गरेको र लामो समय राजधानी बाहिर काम गरेकोमा प्रदेश सरकारले दण्डित गरेर माथिल्लो निकायबाट तल्लो निकायमा सरुवा गरेको भन्दै उनी आक्रोशित छन् ।

पछिल्लो समाय बागमती प्रदेश मातहतका सबै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एकै पटक हटाएपछि विवादमा तानिएको बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय एकपछि अर्को काममा चुक्दै गएको छ । सत्ता साझेदार माओवादी केन्द्रनिकट अस्पताल व्यवस्थापन समितिका अध्यक्षसमेत हटाइएपछि उक्त दलको असन्तुष्टी छ ।

नुवाकोट, रसुवा, धादिङलगायतमा माओवादी केन्द्रनिकट अस्पताल व्यवस्थापन समितिका अध्यक्ष थिए । ती ठाउँका अस्पतालमा स्वास्थ्य मन्त्री निमा लामाले अहिलेसम्म अध्यक्ष नियुक्त गर्न सकेका छैनन् ।