काठमाडौं । अमेरिकी अनुदान सहायता एमसीसी सम्झौताबारे संसदमा छलफल अघि बढाउन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको प्रस्ताव सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेता प्रचण्ड र माधव नेपालले अस्वीकार गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी सम्झौतामा छलफलमा लैजान प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेको नेकपा माओवादी अध्यक्षका स्वकीय सचिव रमेश मल्लले बताए ।
मल्लले भने, प्रधानमन्त्रीले एमसीसी संसद्मा प्रस्तुत गरौँ, त्यहीँ यसबारे लोकतान्त्रिक छलफल हुन्छ । दलहरूले आफ्ना धारणा राख्न पाउँछन् भन्नुभयो । तर अरू नेताहरूले अहिले हतार नगरौँ । गठबन्धनबीच समान धारणा नबनेको र प्रतिपक्षले पनि धारणा स्पष्ट नगरेको अवस्थामा यसलाई संसद्मा लगेर मात्रै अर्थ छैन भन्ने कुरा राख्नुभयो ।
प्रमुख सत्ता साझेदार माओवादी र एकीकृत समाजवादीले यसअघिबाटै एमसीसी अघि बढाउने प्रधानमन्त्रीको प्रस्तावमा असहमति जनाउँदै आएका छन् । मल्लले प्रचण्ड र नेपालले प्रधानमन्त्री देउवालाई प्रतिपक्ष एमालेसँग छलफल गरेर राष्ट्रिय सहमति बनाउन सुझाव दिएको जानकारी दिए ।