जसपा फुटको संघारमा ५१ प्रतिशत पुर्‍याउने होड

Avatar photo
Dhadingpost
बुधबार, माघ २६, २०७८

काठमाडौं । बाबुराम भट्टराई र उपेन्द्र यादव यतिबेला कस्ले ५१ प्रतिशत पुर्‍याउने र पार्टी विभान गर्ने भन्ने होडमा लागेका छन् । यादवमाथि एकलौटी ढंगले काम गरेको आरोप लगाउँदै आएको भट्टराई पक्ष पार्टीमा सकेसम्म ५१ प्रतिशत पुर्‍याउने, नभए अर्को पार्टी गठन गर्ने तयारीमा जुटेको छ ।

अध्यक्ष यादवलाई अन्तिम दबाबका रूपमा तत्काल केन्द्रीय समिति बैठक बोलाउन आग्रह गरिएको, त्यो नमाने बहुमत सदस्यको अधिकार प्रयोग गरेर बैठक बस्ने तयारी रहेको भट्टराई पक्षीय एक नेताले बताए । ‘सकेसम्म ५१ प्रतिशत पुर्‍याएर जसपा कब्जा गर्ने हो,’ ती नेताले भने, ‘त्यो नभए अर्को पार्टी गठन हुन्छ । पार्टी विभाजनपछि लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० सँग एकताको प्रयास हुने पनि जानकारी दिए । ‘भट्टराईजी र लोसपाका नेताबीच छलफल र भेटघाट भइरहेको छ,’ उनले भने ।

यादवले पार्टी निर्णयबिना प्रदेश २ को राष्ट्रिय सभा निर्वाचनमा मोहम्मद खालिद सिद्धिकीलाई टिकट दिएको पनि भट्टराई पक्षको आरोप छ । भट्टराई पक्षका एक केन्द्रीय सदस्यले एक साताभित्र केन्द्रीय समिति बैठक नभए बहुमतका आधारमा पार्टीको नेतृत्व भट्टराईले गर्ने दाबी गरे ।
यादव पक्षधर नेता रामसहायप्रसाद यादवले आवश्यकताअनुसार बैठक बस्ने उल्लेख गर्दै अहिले जरुरी नभएर केन्द्रीय समिति बैठक नबोलाइएको बताए । ‘पार्टीमा कुनै पनि किसिमको विवाद र मनमुटाव छैन,’ उनले भने, ‘कसैले बैठक बस्ने पनि भनेका छैनन्, अध्यक्षज्यूले कसरी बैठक राख्ने ?’

यादव नेतृत्वको संघीय समाजवादी पार्टी र भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच २०७६ वैशाखमा एकीकरण भएर समाजवादी पार्टी बनेको थियो । समाजवादी र राष्ट्रिय जनता पार्टीबीच २०७७ वैशाख १० मा एकीकरण भएर जसपा बनेको हो । जसपाबाट पाँच महिनाअघि महन्थ ठाकुर नेतृत्वको समूह अलग भइसकेको छ ।