काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली विश्वकपमा छनोट खेलका लागि आज ओमान प्रस्थान गर्दैछन् । नेपाली टोली मंगलबार राति ८ बजे ओमान प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
ग्लोबल छनोट ए मा नेपालसहित आयोजक ओमानसहित, फिलिपिन्स, क्यानाडा, युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन्। खेलहरु फेब्रुअरी १८ देखि २४ तारिखसम्म हुनेछ। समूह ‘ए’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन् । समूह ‘बी’ मा युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन्। नेपालले ओमानविरुद्ध खेल्दै छनोटको सुरुआत गर्नेछ ।
नेपाल र ओमानबीचको खेल फेब्रुअरी १८ तारिखमा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुनेछ । नेपालको दोस्रो खेल फिलिपिन्सविरुद्ध अल अमेरात क्रिकेट ग्राउन्डमा फेब्रुअरी १९ मा हुनेछ ।
नेपालले तेस्रो खेल क्यानाडाविरुद्ध ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा फेब्रुअरी २१ मा खेल्ने तालिका रहेको छ । समूह चरणको खेलपछि शीर्ष दुई टोली दुबै समूहबाट सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनल खेलहरु फेब्रुअरी २२ तारिखमा हुनेछ ।
फाइनल भने फेब्रुअरी २४ तारिखमा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुनेछ । फाइनल प्रवेश गर्ने दुबै टोली अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको लागि छनोट हुनेछन् ।