
काठमाडौं । एक वर्षको अन्तरालमा १ करोडभन्दा माथि पुरस्कार राशी जित्न सफल भएको पब्जीको नेपाली डिआरएसले खेलाडी परिवर्तन गरेको छ ।
नेपालको सर्वाधिक सफल प्लेयर्स ब्याटल अन्डरग्राउन्ड (पब्जी) टिम द रिअल सोल्जर्स (डिआरएस) ले आफ्नो टोलीमा खेलाडी परिवर्तन गर्दै नयाँ खेलाडीको रुपमा सुविन श्रेष्ठ (रुल्ज), दीपेश गुरुङ (डेल्टा), विश्वास कर्माचार्य (रिपर), छिरिङ दोर्जे दोङ (रेबेल) र साहस भण्डारी (किलर वाईटी) लाई ल्याएको हो ।
डिआरएसले यसअघि टोलीमा रहेका युगेन लामा (निन्जा), अजय श्रेष्ठ (एजे), निमा तामाङ (निमा), पेम्बा ग्याल्जेन लामा (ग्याल्जेन) र अञ्जन राई (एआरबोरो) विदेशी टोलीबाट अनुबन्धनको प्रस्ताव आएसँगै उनीहरुलाई डिआरएसले बिदाई गर्दै नयाँ खेलाडी ल्याएको हो ।
डिआरएस छोडेका खेलाडीलाई स्काइलाइट्ज गेमिङले अनुबन्धन गर्ने बुझिएको छ । यद्यपि डिआरएसले बिदाइ भएर जाने खेलाडीलाई सधैं परिवारको रुपमा रहेको र ढोका खुल्ला रहने जनाएको छ ।