कहिले देखि सुरु भयो ? सोनाम ल्होसार पर्व

Avatar photo
Dhadingpost
बुधबार, माघ १९, २०७८

धादिङ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष शुरु हुन्छ । आजदेखि बाघ वर्ष प्रवेश हुन्छ । आज ल्होसारको दिन तामाङ समुदायले लोक परिधानमा सजिएर पूजा आजा गर्ने, गुम्बा, चैत्य जाने विभिन्न सांस्कृतिक कार्यक्रमहरू गरेर शुभकामना आदान प्रदान गर्ने गर्दछन् ।

सोनाम ल्होसार पर्व
तामाङ भाषामा ल्होको अर्थ वर्ष वा धिङ वा साल र छारको अर्थ नयाँ भन्ने बुझाउँछ । यसको शाब्दिक अर्थ हो नयाँ वर्ष । तामाङको भाषामा महिनालाई ला भनिन्छ । नेपालको तामाङ समुदायले आफ्नो ल्हो पोवा वा ल्हो दोवा ख्रे लाबाट शुरु हुन्छ भन्ने आम तामाङ समुदायको जनजिव्रोमा छ ।

तामाङको महिना गणना गर्दा पुष र माघबाट शुरुवात गरिन्छ । जसले गर्दा माघ महिनाको शुक्ल पक्ष प्रतिपद्धादेखि शुरुवात हुन्छ । अर्थात् औंशीको रातलाई विदाई गरी चन्द्रमा उदाएको पहिलो दिनलाई नयाँ वर्षको रुपमा मनाइन्छ । १२ औं महिनामा तापा ला दोप्पा (औंशी) सकेर खे्र ला ‘‘छेपा गी’’ नयाँ चन्द्रमा उदाउने दिनबाट ल्हो वा धिङ फेर्दछ । छेपाको अर्थ महिना/तिथी शुरुवात हो र गी को अर्थ पहिलो गन्ति हो ।

कहिले देखि सुरु भयो ? सोनाम ल्होसार पर्व
आजभन्दा ४७०० वर्ष अगाडि चिनिया खगोल शास्त्रको आधारमा ल्होछारको आरम्भ भएको इतिहासमा पाइन्छ । ल्होछार मनाउने परम्परा १२ वटा जीवजन्तुहरुको नाम र तिनलाई प्रभाव पार्ने पाँच वटा भौतिक तत्वहरुको आधारमा सृजित राव्ज्युङ ल्होखोर चन्द्र पात्रोमा आधारित विश्वको सवैभन्दा पुरानो परम्परा मानिन्छ । काठ पुरुष मुसा वर्षबाट सुरुवात भएको हो । चिनिया प्राचिन स्हीया साम्राज्य र वादशाहहरुले प्रचनलमा ल्याएको ‘‘स्हीया’’ पात्रो परम्परा अनुसार पनि चिनिया चन्द्र वर्षको पहिलो चन्द्र महिनाको पहिलो दिनलाई नयाँ वर्षको आरम्भ वा उत्सव मनाउँदै आएको उल्लेख छ ।

१२ वटा चन्द्र महिनाको नाम
तामाङ भाषामा चन्द्रमालाई लानी भनिन्छ । ला को अर्थ महिना नी को (ङी) अर्थ दुई भन्ने बुझाउँछ । यसको अर्थ दुई वटा महिना सँगै जोडिएर एकै महिनामा गिन्ती गरिन्छ । पहिलो चन्द्र महिना
१. ख्रेला (पुष, माघ) २. वेनेला (माघ फागुन) ३. नामदुङ ला (फागुन, चैत) ४. दुगुला (चैत्र, वैशाख) ५. ड्वाफ्रे ला (वैशाख जेठ) ६. व्याल्वो ला (जेठ, असार) ७. गोने ला (असार, साउन) ८. यान्दे ला (साउन, भदौ) ९. म्हेनिङ ला (भदौ, असोज) १०. सोकराती ला (असोज, कात्तिक) ११. वोइताइपा ला (कात्तिक, मंसिर) १२, तापा ला (मंसिर पौष)

सोनाम ल्होछार
चिनियाहरु, नेपालको तामाङ र ह्योल्मो समुदायले मनाउँदै आएको आज भन्दा २८५१ औं वर्ष अगाडि देखि चिनीया चन्द्र पात्रो वा चन्द्र मास अनुसार माघ शुक्ल प्रतिपदा परेवा तिथिदेखि पूर्णिमासम्म मनाइन्छ । जसलाई तामाङ समुदायले ख्रेलाबाट शुरुवात गरी आएको हो । यो वर्ष सोनाम ल्होछारको तिथि २०७१ साल माघ ७ गतेबाट नयाँ वर्षको शूरुवात हुन्छ । यसलाई नेपाल सरकारले २०५१ माघ १४ गतेका दिन नेपालका तामाङ समुदायले परम्परा चिनिया पात्रो पहिलो चन्द्रमास अनुसार मनाउने सोनाम ल्होछारलाई नै राष्ट्रिय मान्यता दिएको हुँदा नेपालको तामाङ समुदायको साँस्कृतिक पहिचान भएको राष्ट्रिय पर्व सोनाम ल्होछार हो र यसलाई आफ्नो समुदायको पहिचानको रुपमा लिनु पर्दछ ।
ल्होछार मनाउने विधि
– ल्होछारको पूर्व तयारी– घर आँगन, गुम्वा, बाटो, चौतारा आदिमा सरसफाई गर्नुपर्ने ।
– ल्होछारको पूर्व सन्ध्या– पुरानो वर्षको विदाइ, नयाँ वर्षको स्वागतको लागि घरमा, गुम्वामा पुजापाठ एवम् नयाँ गोइलो फेर्ने ।
– ल्होछारको दिन– कुल देवता तथा गुम्वामा छो चढाउने, नदिनाला, गुम्वा, अग्लो डाँडा समेतमा लुङदार तथा दोर्जु ठड्याउने र टिका ग्रहण तथा आर्शिवाद लिनेदिने ।
– ल्होछार पश्चात्– शुभकामना आदन प्रदान, इष्टमित्रसँग भेटघाट, कोसेलीपात लाने, लैजाने ।

ल्होछारको खाद्य परिकार
दुई ची– कारसूम, ङारसूम र सेरसाङ मिसाएर दुई ची बनाउने ।
छेमार– मकै, गहुँ र चामल मध्ये एक अन्नबाट सातु बनाई दुई ची मिसाएर बनाउने ।
अन्य परिकार– खाप्से, बाल्टु, आलुम, वावर, सेलरोटी आदि
गुथुक्पा– नौ वटा अन्नको गेडागुडी मिसाएर झोल बनाएर खाने ।
फलफुल– कन्दमुल वा धिम्तेमे घर तरुल