नागढुङ्गा सुरुङ निर्माणका १२७ जना कामदारलाई कोरोना संक्रमण

Avatar photo
Dhadingpost
आइतवार, माघ १६, २०७८

धादिङ । नागढुङ्गा सुरुङ निमार्णमा कार्यरत १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । निर्माणस्थलमा नै प्रत्येक पाँच-पाँच दिनमा कोभिड परीक्षण गरेर नेगेटिभ आउने काममा लाग्ने र पोजेटिभ आउने अरुबाट अलग बस्ने गरेको आयोजनाले जनाएको छ ।शारीरिक रुपमा काम गर्न सक्ने व्यक्ति पनि रिपोर्ट ‘नेगेटिभ’ नआएसम्म काम नगर्ने आयोजनाका प्रमुख नरेशमान शाक्यले बताए ।

४०० जना कार्यरत मध्य १२७ जनामा कोरोना संक्रमण देखिएको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ । सङ्क्रमण देखिएका व्यक्तिमा जटिल स्वास्थ्य समस्या भने छैन । कामदार निर्माणस्थलमा नै ‘आइसोलेसन’ मा बसिरहेको आयोजनाले जनाएको छ ।

निर्माणस्थलमा नै प्रत्येक पाँचपाँच दिनमा कोभिड परीक्षण गरेर नेगेटिभ आउने काममा लाग्ने र पोजेटिभ आउने अरुबाट अलग बस्ने गरेको आयोजनाले जनाएको छ । आयोजनामा केही दिन पहिलेसम्म दैनिक १० मिटर खन्ने गरिएकामा अहिले जनशक्ति कम भएकाले दैनिक ६ र ७ मिटर मात्रै खनिरहेको प्रमुख शाक्यले बताए ।

विसं २०७६ असोजमा ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी हाज्मा आङ्दो कर्पोरेसनसँग ठेक्का सम्झौता गरिएको थियो । सोही वर्ष कात्तिकमा आयोजनाको शिल्यान्यास भएको थियो । जापान सरकारको ‘सफ्ट लोन’ मा सुरुङ निर्माण गर्ने गरी सम्झौता भएको थियो ।

आयोजना अन्तर्गत साढे नौ मिटर र चार मिटर गरेर दुई सुरुङ निर्माण हुनेछ । आयोजनाअन्तर्गत दुई ‘फ्लाइओभर’, एक सर्भिस सेन्टर र तीन दशमलव एक किलोमिटर नयाँ सडक रहेका छन् । सुरुङमार्गकै मुख र सतुङ्गलमा ‘फ्लाइओभर’ बनाउन लागिएको छ ।