काठमाडौं । नेपाली सेनाले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। विश्वनाथ पौडेलसहित रक्षा र अर्थ मन्त्रालयका उच्च अधिकारीलाई शनिबार बंकर टु ब्यारेक कार्यक्रम तथा सेनाको दृष्टिकोण २०८७ बारे ब्रिफिङ गरेको छ ।
जंगी अड्डामा प्रधानसेनापति प्रभुराम शर्मा, बलाधिकृत रथी बालकृष्ण कार्कीलगायतले चालू आर्थिक वर्ष सेनाले ९३ वटा ब्यारेक निर्माणमा भएका प्रगतिबारे जानकारी दिएका छन् ।
चालू आर्थिक वर्ष सेनाले ९३ वटा ब्यारेक घर निर्माण गर्दै छ । सेनालाई आवश्यक १७५ ब्यारेकमध्ये बजेटको सीमितताका कारण सेनाले ९३ ब्यारेक निर्माण गर्दै छ । सरकारले जंगी अड्डालाई यो वर्ष विनियोजन गरेको ६ अर्ब ६३ करोड ७ लाख रुपैयाँ पुँजीगत खर्चमध्ये बंकर टु ब्यारेक कार्यक्रमका लागि २ अर्ब ३३ करोड रुपैयाँ विनियोजन भएको छ । यही बजेटबाट सेनाले देशभरिका विभिन्न ठाउँमा ब्यारेक निर्माण गर्न लागेको हो ।