धादिङ । बुढीगण्डकी जलविद्युत् आयोजना प्रभावित क्षेत्रमा पर्ने संरचना र बोटबिरुवाको मुआब्जा वितरणको तयारी थालिने भएको छ । मन्त्रिपरिषद् बैठकले आयोजनाको डुबान क्षेत्रमा रहेका घरगोठलगायत भौतिक संरचनाहरूको ह्रासकट्टी नगर्ने निर्णय गरेसँगै मुआब्जा वितरणको तयारी भएको हो ।
डुबानमा पर्ने घरगोठलगायतका अन्य संरचना, फलफूल तथा बोटबिरुवाको लगत संकलनको काम सम्पन्न भइसकेको छ । संकलित तथ्यांक अनुसार डुबानमा पर्ने संरचनाको संख्या २४ हजार पाँच सय ५५ रहेको छ । तीन लाख ६२ हजार पाँच सय ६३ संंख्यामा बोटबिरुवा र चार लाख ६३ हजार एक सय ४९ फलफूल डुबानमा पर्ने आयोजना इकाइ प्रमुख कृष्णबहादुर कार्कीले बताए ।
उनका अनुसार फलफूलतर्फ आँप, निबुवा, सुन्तला, केरा, भुइँकटहर, अम्बा, लिची, भोगटे, निमपत्ता, जाइफल, तेजपत्ता, अमलालगायत ३० प्रजाति छ । बोटबिरुवातर्फ साल, साज, हर्रो, उत्तीस, सल्ला, चिलाउनेलगायत ४९ प्रजाति रहेको छ । भौतिक संरचना, बोटबिरुवा तथा फलफूल सबै गरी कुल आठ लाख ५० हजार दुई सय ६७ को मुआब्जा वितरण गर्ने तयारीमा रहेको इकाइ प्रमुख कार्कीले बताए ।
इकाइलाई चालू वर्ष सरकारले सात अर्व ८५ करोड बजेट विनियोजन गरेको थियो। धादिङ र गोरखातर्फ गरी ४८ हजार नौ सय ४९ रोपनी जग्गाको ३४ अर्ब ६ करोड ४९ लाख वितरण गरिएको छ । दुवै जिल्लातर्फ गरेर अब करिब तीन सय रोपनी जग्गाको मुआब्जा दिन बाँकी रहेको छ । गोरखा र धादिङको गरी कुल ५८ हजार रोपनी जग्गा डुबानमा पर्नेछ भने करिब पाँच हजार परिवार पूर्ण रूपमा विस्थापित हुनेछन् ।