धादिङका १० नेताले पाए युवा संघमा नयाँ जिम्मेवारी

Avatar photo
Dhadingpost
आइतवार, माघ ९, २०७८

धादिङ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले नेपालले ४०५ सदस्यीय नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेको छ ।

संघले जारी गरेको सर्कुलरमा उल्लेख भए अनुसार राष्ट्रिय महाधिवेशनपछिको दोस्रो हैसियत कायम रहने गरी २५०१ सदस्यीय केन्द्रीय युवा परिषद निर्माण गर्ने निर्णय गरेको छ। सर्कुलर अनुसार प्रदेश अधिवेशन आयोजक कमिटीका पदाधिकारी केन्द्रीय कमिटी भन्दा बाहिरबाट चयन गरिने भनेको छ। साथै प्रदेश संयोजकको मर्यादाक्रम स्थायी कमिटी सोसरह, सह-संयोजक र सचिवको मर्यादाक्रम सचिवालय सदस्य सोसरह, सह सचिव र कोषाध्यक्षको मर्यादाक्रम केन्द्रीय सदस्य सोसरह कयम हुने भनेको छ। संघले आयोजक कमिटी हुनेहरुलाई परिभाषित जिम्मेवारी पनि प्रदान गरेको छ।

जस अनुसार धादिङका १० युवा नेताले केन्द्र, प्रदेश र जिल्लामा जिम्मेवारी पाएका छन् । जसमा केन्द्रीय कार्यालय सदस्य रमेश आचार्यले स्कुल तथा नेतृत्व विकास विभागको जिम्मेवारी पाएका छन् । साविक स्थायी कमिटीका सदस्य मोदनाथ सिलवाल (सन्तोष)ले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको सचिवको जिम्मेवारी पाएका छन् भने महाधिवेशन आयोजक कमिटी सदस्य दिपक खतिवडाले जिल्ला इन्चार्जको जिम्मेवारी पाएका छन्। त्यस्तै बाबु छत्कुलीले केन्द्रीय निर्वाचन आयोग उप प्रमुखको जिम्मेवारी पाएका छन् ।

त्यसैगरि महाधिवेशन आयोजक कमिटी सदस्यको जिम्मेवारी पाउनेमा विष्णुहरी त्रिपाठी, वसन्ता पाण्डे, संजिव पाण्डे, स्वतन्त्र पण्डित छन् । यस्तै बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको कोषध्यक्षको जिम्मेवारी बासु प्रसाद विडारीले पाएका छन् । सर्कुलर अनुसार धादिङको जिल्ला अधिवेशन संयोजकमा काजी श्रेष्ठ छन् ।