अमेरिकामा तेक्वान्दो एकेडेमी चलाउँछु तर धादिङ मेरो कर्मघर हो -प्रकाश ढुङ्गाना

Avatar photo
गोविन्द बुढाथोकी
शुक्रबार, माघ ७, २०७८

नेपाली भाषी हिन्दु भएकै कारण भुटानबाट सन १९९२ मा लाखौँ नेपाल आएकाहरुमध्ये एउटा ११ वर्षे बालक बुबा आमा र आफन्त साथ लागेर नेपाल पस्यो । निर्वासन जीवन जिउने एक सामान्य मानिस जसले प्रवास के हो ? कति समस्याहरुसँग पौँठेजोरी खेल्नु पर्छ ? जीवनयापनका लागि के के दुःखकष्ट भोग्नुपर्छ ? आप्रवासन र शिक्षाका कति झन्झट बेहोर्नु पर्छ ? क्याम्पको बसाई यूएन् को आँकडा र नियम । त्यो हामी सामान्यतया घर बसेर बा आमालाई घुर्की लाउँदै पढ्नेहरुलाई बिलकुलै अन्दाजा हुँदैन । किनभने हामीले त्यो खेप्न परेन ।

त्यो समय अनि आप्रवासन र संघर्ष सम्झेर सायद सबै नै रुन्छन् । प्लाष्टिकको छाप्रोमुनी दर्केझरीमा अपाङ्ग बुबा र बहिनी सहितको परिवारको बसाईको धेरै मर्माहत भोगाई छ उहाँको । प्रारम्भिक शिक्षा (कारितास नेपाल-जसलाई युएन् ले फण्डिङ गरेको थियो) बाट एसएलसी सक्दा सँगै तेक्वान्दो ब्ल्याकबेल्ट फस्टडान पनि सकियो ।

यो तेक्वान्दोको सन्दर्भ पनि गज्जबको थियो उनको किनभने नेपालमा माओवादी आन्दोलन उत्कर्षमा थियो नै त्यति नै बेला क्याम्पमा पनि माओवादीहरुको भुटान फर्किन पाउनुपर्ने माग सहित अर्को मौलिक आन्दोलन थियो । जसले आफ्ना आप्रवासी कार्यकर्ताहरुको दस्ता तयार गर्ने विषयले तेक्वान्दो कक्षाहरु लुकीलुकी जङ्गलतिर हुने गर्थ्यो, त्यसैमा रुचि भएकाले यिनले भागीभागी सहभागी भए, पछि नजिकैका गुरुहरुले लुक्न पर्दैन भनेपछी त्यहाँ नियमित तालिम गर्नुभएको थियो । शरीर सुगठीत र बलियो भएको अनुभव उनमा त्यतिबेला नै आएको थियो । मनमा उमङ्ग पनि । ब्ल्याकबेल्ट पाएको दिन उनले तालिमका लागि साइकलमा डेढ घण्टा हिँडेको सातवर्षको दुख भुले ।

समय परिस्थितले नेपालमा बोर्डिङ्स्कुलहरु गाउँगाउँमा खुल्न थाले, अंग्रेजी अध्यापन र गायन तथा अतिरिक्त क्रियाकलाप भनेर सबैजसो विद्यालयमा दार्जिलिङ र सिक्किमबाट शिक्षकहरु झिकाउने चलन थियो । यो चलन यति गहिरो थियो कि जुन बोर्डिङ स्कुलमा दार्जिलिङका शिक्षक छैनन् त्यहाँ विद्यार्थी नै कम भर्ना हुन्थे । बढ्दो माग र घट्दो दार्जलिङे जनशक्तिका कारण बिस्तारै यो शिक्षकहरुको मागमा सम्पर्कले आप्रवासी भुटानीहरुले छिर्न शुरु गरे । मेची बहुमुखी क्याम्पसबाट बिए सक्नुभएका प्रकाश र उहाँकी जीवन संगिनी एक जोडी बाध्यताले सन २००५ मा धादिङ छिरे । १ वर्ष अर्को विद्यालयमा काम गरि सकेपछि उनीहरु एड्भान्स एकेडेमीका संस्थापक शिक्षकहरु भए, यद्यपि उनीहरुलाई क्याम्प बाहिर जान पनि असहज नै प्रायः थियो ।

एड्भान्सले आफ्नो पाइला यिनै जावन सहित १३ नौजवानहरुको कदले शुरु गरेको थियो । दोश्रो जनआन्दोलन ०६२/६३ सँगै जन्मिएको विद्यालय अनि अलिक धेरै खुल्ला र केही नयाँ पन भएर पनि होला , शिक्षकहरुलाई नयाँ र सिर्जनात्मक हुन भनेर तालिमहरु दिईन्थ्यो । जनआन्दोलन सफल भो विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भयो । नयाँ लहरहरु आए । जिल्लामा मेला महोत्सवहरु हुने भए। सोहीबेला नयाँ अनि कक्षा ५ सम्म चलेको विद्यालयले यिनै शिक्षकको नेतृत्वमा अतिरिक्त तथा सभा सम्मेलनमा सहभागी गराउने निर्णय गर्यो ।

होस्टल वार्डेन समेत रहनुभएको र संघर्षशील जीवन बिताउनुभएका उहाँ संगठनात्मक रुपमा बलियो र कर्मशील भएकाले विद्यालयले महोत्सवको झाँकीमा पहिलो हुन सफल भयो । धादिङ बसाई ५ वर्षको छोटो तर यादगार र जीवनको महत्वपूर्ण रहेको भन्दै उहाँले स्तम्भकारसँग भलाकुसारीमा अहिले पनि धादिङमा आत्मीय साथीहरु रहेको र धेरै आफन्तअहरु भेटेको बताउनुभयो । विद्यालयको शुरुवातिमा विद्यार्थीहरुलाई गायन र तेक्वान्दो क्लब शुरु गर्न पाएकोमा अत्यन्त हर्षित हुँदै आज विद्यालयले कक्षा ३ देखि तेक्वान्दो नियमित कक्षा गरेको कक्षा सातमा ब्ल्याक बेल्ट दिने गरेकोमा आफू अत्यन्त हर्षित भएको बताउनुभयो ।

तेश्रो देश आप्रवासन रोजेर हाल अमेरिकाको हरिसवर्ग पेन्सिलभानीया बसोबास गर्नुहुने उनै प्रकाश ढुङ्गाना २००९ मा अमेरिका छिरेदेखि नै फ्याक्ट्रिमा काम शुरु गरे पनि काम शिलशिलाले एकदिन जाँदै गर्दा एक जना साथीले आफ्नै काम गरौं भनेर प्रस्ताव गर्दा आफ्नै इच्छा बमोजिम तेक्वान्दो एकेडेमी बनाउने प्रस्तावलाई स्विकार गरि कामनै छोडेर सो कार्यका लागि पर्नुभयो । केही समय उहाँसँग बसेर काम गरिसकेपछि आफैँ पनि यो एकेडेमी सञ्चालन गर्न सकिन्छ भनेर बालबालिका, युवा र वयस्क गरि ३ श्रेणीमा तेक्वान्दोमा ग्लोबल ताइक्वान्दो एकेडेमी नामक सँस्था खोलेर सकृय रहनुभएको छ ।

हाल उहाँसँग ५० जना भन्दा बढी नियमित खेलाडी र कर्मचारीहरु समेत रहेको र नेपाली समुदायले मायाँगरेर आफ्ना नानीबाबुहरु पठाएको औंधी खुसीभएको बताउनुहुन्छ । एउटा खेलाडी आफ्नो खेल जीवन त्यसका आयामहरु पछ्याउँदै खेलका माध्यमबाट भातृत्व भगिनत्व कायम गर्दै देशको शीर उच्चराख्न सँधै लागि परेको देख्दा गर्वले छाति फुलिन्छ अनि उनकै सम्मानमा शरीर तनक्क तन्किन्छ । जन्मले भुटानी भएपनि नेपाली भाषा र धर्मले अनि कर्मले नेपाली भन्न रुचाउने उहाँ नेपालीहरुले दुख पाए भन्दा आफ्नै दाजुभाईले दुःख पाए भनेर सघाउन र सहयोग गर्न कहिल्यै पछि पर्नहुन्न भन्नुहुन्छ ।

आफ्ना दुई छोराहरुलाइ पनि ब्ल्याक बेल्ट फस्टडान गराउनु भएका प्रकाश भन्नुहन्छ । मार्शल आर्ट सन्तुलित खेल हो जसले एरोबिक र अनएरोबिक कम्पोजिशन हुन्छ । जसले मानिसले शारिरीक तन्दुरुस्ति, सहित मानसिक विकास गर्छ भने सामाजिक सद्भाव कायम गर्दै मानिसलाई सिर्जनात्मक, सकारात्मक सहित बैयक्तिक आत्मनिर्भर बनाउँछ भन्ने मान्यतामा राख्नुहुन्छ ।

भाषा र धर्मले नजिक पारेको एउटा साथी, एउटा सहयात्री, अबिराम खेल जीवनमा लागीपरेको देख्दा र परेदेशी भैकन घरदेशीको जस्तो आत्मीयता देख्दा लोभ लाग्छ ।