काठमाडौं । प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता अन्तरगत आज भएको खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै बागमती प्रदेश सेमिफाईनल प्रवेस गरेको छ ।
युवा तीव्र गतिका बलर प्रतिश जिसीको उत्कृष्ट प्रदर्शनमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई ४० रनले हराउँदै प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिताको सेमिफाइनलमा प्रवेस गरेको हो ।
१ सय ४४ रनको विजयी लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३ रन बनायो । गण्डकीका विधान श्रेष्ठ, दीपक डम्रे, सन्दीप क्षेत्री, गोविन्द विक र कप्तान विशाल पौडेलले समान १० रन बनाए । ओपनर अर्जुन कुमाल ९ र अर्जुन गुरुङ ८ रनमा आउट भए । बागमतीका नन्दन यादव, विपिन आचार्य र सुवास खत्रीले २–२ विकेट लिए । बायाँ हाते तीव्र गतिका बलर प्रतिश जि।सी, रामनरेश गिरी र रिजन ढकालले १–१ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको बागमतीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४३ रन बनाएको थियो । बागमतीका प्रतिश जि।सी।ले मात्र ८ बलमा ३ छक्का र २ चौकासहित अन्त्यतिर आक्रामक २७ रन जोडेका थिए । विपिन आचार्यले १९ बलमा ३ चौकासहित सर्वाधिक ३० रन बनाए ।
ओपनर सुवास खकुरेल ३० बलमा २ चौका र १ छक्कासहित २७ रन जोडे । ईशान पान्डे ९, ज्ञानेन्द्र मल्ल ४, लक्की कठायत १७ र नन्दन यादवले १४ रनमा आउट भए । गण्डकीका कृष्ण पौडेल र विशाल पौडेलले २–२ विकेट लिए । अशोक श्रेष्ठ, सुवास भण्डारी र कमल परियारले १–१ विकेट लिए ।