माघ सङ्क्रान्तिमध्ये जाडोको रमाइलो पर्व हो । यस दिन तेल लगाउने प्रचलन पनि छ अर्थात् यस पर्वका प्रत्येक क्रिया जाडो विरुद्ध गर्मी उत्पन्न गराउने खालका हुन्छन् ।
यो सङ्क्रान्तिलाई अयन सङ्क्रान्ति पनि भनिन्छ । घ्यू चाकु खाने दिन हो पौषमा पकाएको पाक मकर सङ्क्रान्तिमा खाने चलन पनि छ त्यो हो उसिनेको पोलेको तरुल । यो दिन तेल लगायो भने १ वर्ष सम्म शरीर निरोगी हुन्छ ।
नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने छेत्री, बाहुन, राई,मगर , लिम्बु, नेवार, गुरुङ, मगर आदि सबै जनजातीले माघे सङ्क्रान्तिलाई आआफ्ना परम्परा, भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ । यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन्, मगर समुदायले मुख्य रुपमा धुमधामको साथ् मनाउने यो पर्वलाई माघ्यारसेर्ल्हेस पनि भनिन्छ ।
माघेसङ्क्रान्तिमा के खाने ?
तिहारको सेलरोटी, दशैंको मासु भनेजस्तै माघे संक्रान्तिको पनि खास परिकार छ । घिउ, चाकु, तिलको लड्डु, तरुल खाएर मनाइन्छ । यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र आदि खाने र दान गरेमा शरीर पोषिलो हुनका साथै निरोगी हुने विश्वास छ ।
प्राकृतिले त्यही कुरा, त्यही समयमा उत्पादन गरिदिएको छ, जतिबेला हाम्रो शरीरलाई आवश्यक हुन्छ । यतिबेला तरुल, सख्खरखण्ड, पिँडालु आदि खाने गरिन्छ । यसले शरीरमा आवश्यक पोषक तत्व पुरा गर्छ । यतिबेला तिलको लड्डु लगायत मिठो परिकार खाइन्छ, जसले शरीरमा जाडोसँग लड्ने क्षमता बढाउँछ ।
माघे सङ्क्रान्तिको महत्व
माघे सङ्क्रान्ति धार्मिक र आध्यात्मिक रुपमा निकै नै महत्वपूर्ण पर्व हो । यसले देशको भौगोलिकता, जातीयता एवं साँस्कृतिक विविधताको प्रतिनिधित्व गर्दै आएको छ । ज्योतिष शास्त्रअनुसार सौर तिथिका हिसाबले आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने हुनाले यस पर्वलाई मकर सङ्क्रान्ति’ पनि भन्ने गरिन्छ । आजदेखि दिन लामो हुने र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।
आयुर्वेद र आधुनिक चिकित्साशास्त्रमा पनि यो दिन खाइने परम्परागत खाद्य पदार्थले हाम्रो शरीरलाई आवश्यक पर्ने प्रोटिन, कार्बोहाइड्रेट र क्याल्सियम लगायतका तत्व प्राप्त हुने र तिनले सम्भावित रोगसँग लड्ने क्षमता प्रदान गर्ने उल्लेख गरिएको छ ।
सूर्यको उदयबिन्दु दक्षिणतर्फबाट उत्तरतर्फ सर्ने भएकाले यस दिनबाट उत्तरायण सुरू हुन्छ भन्ने मान्यता छ । उत्तरायणको अवधिमा तुलनात्मक रूपमा दिन लामा हुने र तापक्रममा बृद्धि भई गर्मी मौसमको प्रारम्भ हुने गर्दछ । त्यसैले पनि यस दिनको छुट्टै खगोलीय महत्त्व छ । यस दिनमा तिलको होम र दान गर्नाले वा खानाले अथवा प्रयोग गर्नाले त्यो व्यक्ति कहिल्यै असफल हुँदैन भन्ने धार्मिक विश्वास पनि छ । उक्त दिन नदीका दोभानमा गई शुद्ध भई सिधा दान गर्नाले पुण्य प्राप्त भई रोगब्याधिबाट मुक्त भइने जनविश्वास पनि छ । धार्मिक दृष्टिले मात्र होइन, वैज्ञानिक तबरबाट पनि माघे सङ्क्रान्तिलाई उत्तिकै महत्वपूर्ण मानिएको छ ।