राष्ट्रियसभा निर्वाचनको लागि आज उम्मेदवारी दर्ता

Avatar photo
Dhadingpost
पुस २०, २०७८

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले पुस २० गते उम्मेदवारी दर्ताको समय छुट्याएको हो । त्यस्तै, २१ गते उम्मेदवारीमा दाबी विरोधको उजुरी दिने, २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ र सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ ।

आगामी माघ १२ गते तोकिएको मतदान केन्द्रमा बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ । मतदानका लागि आयोगले प्रदेश १ मा दुई र अन्य ६ वटा प्रदेशमा एक–एक वटा मतदान केन्द्रभित्र दुई–दुई वटा मतदान केन्द्र रहने गरी आठ वटा मतदान स्थलमा १४ वटा मतदान केन्द्र निर्धारण गरेको छ ।

आयोगले निर्वाचनका लागि प्रदेशसभा सदस्यहरु ४३२ तथा पालिका प्रमुख र उपप्रमुखहरु १४ सय ९३ गरी कुल २०२५ जना मतदाता हुने जनाएको छ ।

राष्ट्रिय सभा निर्वाचनमा भाग आयोगमा लिन १२ वटा राजनीतिक दलले दल दर्ता गरेको छ । निर्वाचनका लागि दल दर्ता गराउनेमा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, प्रजातान्त्रिक जनता पार्टी, नेपाल लोकतान्त्रिक पार्टी र नेपाल परिवार दल रहेका छन् ।