धादिङमा एड्भान्स र आदर्शका ७२ जना विद्यार्थी एनसीसी तालिममा रमाउँदै (फोटो फिचर)

Avatar photo
Dhadingpost
बिहिबार, पुस १५, २०७८

धादिङ । धादिङबेसी सदरमुकाममा रहेको एड्भान्स एकेडेमी र गजुरीको आदर्श माविमा कक्षा ११ र १२ विद्यार्थीहरु यतिबेला एनसीसी तालिममा छन् । सेनाको जस्तै देखिने पोशाक लगाएर तालिममा सहभागि उनीहरुलाई नेपाली सेनाले प्रशिक्षण दिई रहेको छ ।

एड्भान्सका छात्रा १८ जा र छात्रा १८ जना गरी ३६ जना विद्यार्थीलाई सिनियर डिभिजन अन्तरगत तालिम संचालन भई रहेको छ भने गजुरी आदर्श माविका ३६ जना विद्यार्थीलाई जुनियर डिभिजन अन्तरगतको तालिम भईरहेको नेपाली सेना धादिङले जनाएको छ ।

नेपाली सेनाअन्तर्गतको राष्ट्रिय सेवा दल (एनसीसी) तालिमका लागि नेपाल सरकारले नै वजेट व्यवस्थापन गर्ने गर्दछ । हतियार समेत चलाउन सिकाईने, शारिरीक व्यायम सँगै पोशाक समेत सरकारले नै दिने भए सँगै पछिल्लो समय धादिङमा यस तालिम प्रति विद्यार्थीहरु आकर्षित हुन थालेका छन् ।

एड्भान्स एकेडेमीका प्रिन्सिपल भिम श्रेष्ठका अनुसार एड्भान्सबाट कक्षा ११ र १२ का १८ छात्र र १८ छात्रा ले उत्साह पूर्वक यस तालिम लिईरहेका छन् । तालिममा म आफूपनि हर्न जान्छु विद्यार्थीलाई अत्यन्त उपयोगि रहेको उनी बताउँछन् ।

त्यसो त यो यस्तो सैन्य तालिम हो, किताब समाउने उमेरका विद्यार्थीलाई हतियार समाउन सिाकाईने छ । विद्यार्थीलाई हतियारसँग अभ्यस्त तुल्याइने छ । बाल अधिकारसम्बन्धी राष्ट्रसंघीय महासन्धि, १९९९ को धारा ३८ मा बालबालिकालाई सैन्य प्रयोजनमा लगाउन नपाउने व्यवस्था विपरित रहेको पनि अधिकाकर्मीहरुले बताउँदै आएका छन् ।

यो नेपाल सरकार अन्तरगत शिक्षा मन्त्रालयको वजेटमा संचालित कार्यक्रम हो यसको प्रशिक्षणको जिम्मा नेपाली सेनाले पाएको मेजर रमेश थापा बताउँछन् । अनुशासन, देशभक्ति, विपद् व्यवस्थापन, प्राथमिक उपचार, असल चालचलन, साहसिक क्रियाकलाप र सुरक्षासँग सम्बन्धित तालिम, यसैको एउटा अंग निशाना लगाउने तालिम भएको मेजर थापा बताउँछन् ।

असल र सदाचारी नागरिक बनाउने लक्ष्यसहितको एनसीसीको पाठ्यक्रममा हतियारबद्ध तालिमलाई समेत मनग्गे स्थान दिइएको छ । एनसीसीले जुनियर र सिनियर दुई समूहमा विभाजन गरी सिनियर समूहकालाई गोली चलाउने सीप सिकाउँछ । ८ देखि १० कक्षाकालाई जुनियर तथा ११ र १२ कक्षाकालाई सिनियर समूहमा छुट्याएर स्वेच्छिक रूपमा बेग्लाबेग्लै सहभागी गराउने प्रचलन छ ।

सेनाका अनुसार जुनियरमा १३ देखि १६ र सिनियरमा १६ देखि १८ वर्ष उमेरका विद्यार्थी सहभागी हुन्छन् । तर एनसीसीले उमेरका आधारमा नभई कक्षागत आधारमा समूह विभाजन गरेर तालिम दिने गर्छ । अर्थात्, सिनियर समूहका विद्यार्थी १६ वर्षभन्दा कम उमेरका भए पनि हतियारबद्ध तालिममा सहभागी हुन पाउँछन् । उनीहरूलाई थ्रीनटथ्री राइफलबाट फायरिङ सिकाइन्छ । कुन उमेर समूहकालाई हतियारबद्ध तालिम दिने भनेर एनसीसीले लक्ष्मणरेखा तय गरेको छैन । त्यसका साथै हतियारको ड्रिल तालिमसमेत सञ्चालन हुन्छ ।

नेपालमा एनसीसीको सुरुवात
कलेज पढ्ने विद्यार्थीलाई मात्रै तालिम दिने गरी ०२२ मा एनसीसी स्थापना भएको थियो । सुरुमा विश्वविद्यालयका केही प्राध्यापक पनि तालिममा सहभागी भएका थिए । त्यसपछि ०२७ मा राष्ट्रिय सेवा दल ऐन आएपछि तालिमलाई जुनियर र सिनियर दुई भागमा बाँडियो । जुनियरमा विद्यालय र सिनियरमा विश्वविद्यालयका विद्यार्थीलाई तालिम दिइन्थ्यो । पञ्चायतकालमा प्रमुख जिल्ला अधिकारी सीडीओ र पञ्चायत विकास अधिकृत पीडीओ लाई हतियारको तालिम दिइन्थ्यो । यसलाई समेत एनसीसीले सिनियर डिभिजन मानेको थियो ।

०३० देखि राष्ट्रिय विकास सेवा कार्यक्रम लागू भएपछि एनसीसीको संरचनामै फेरबदल भयो र सिनियर डिभिजनको तालिम खारेज गरियो । एकैचोटि ३० वर्षपछि पुन: एनसीसीको सिनियर डिभिजन खडा भयो, ०६० मा राष्ट्रिय सेवा दलको दीर्घकालीन योजना आएसँगै । अहिले सिनियर डिभिजनमा विश्वविद्यालयका विद्यार्थीलाई समावेश गरिँदैन, प्लस टुकालाई मात्रै सहभागी गराइन्छ ।