
धादिङ । नेपालको विभिन्न राष्ट्रिय चाड पर्वहरु दशैं, तिहार, छट, सकेला, ल्होसार जस्तै तमू गुरुङहरुको महान पर्व ल्होछार परम्परागत रुपमा मनाउँदै आईरहेको तमु संस्कृतिमा आधारित पर्व हो । तमु ल्होछार बिशेष गरी नेपाली पात्रोअनुसार पुष १५ का दिन मनाउने चलन छ । तमू भाषामा ल्हो (बर्ग) र छार (नयाँ) भन्ने जनाउँदछ । पुरानो बर्गलाई बिदाई गर्दै नयाँ ल्हो बर्ग को आगमनको उपलक्ष्यमा नयाँ बर्षकोरुपमा यो चाड मनाईन्छ ।
तमूहरुको यस महान चाड ल्होछारको उपलक्ष्यमा तमूहरुले एक अर्काप्रति आँशिमाला शुभकामना आदानप्रदान गर्ने चलन छ । तमुहरुमा कुन सालमा जन्मेकोभन्दा पनि कुन ल्हो हो भन्ने कुरामा उमेरको गन्ति गर्दछ साथै बिबाह, शुभ कामहरुको थालनी गर्दा पनि यो समुदायमा प्रायजसो ल्हो नै हेराएर गरिन्छ ।
ल्होसारकै दिनभन्दा अघिल्लो साँझदेखि नै यसलाई मनाउन सुरु गरिन्छ । साँझ पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा नयाँ वर्ष आयो भन्दै नयाँ वर्षको स्वागत गरिन्छ । ल्होसारको दिन बिहानदेखि नै ढोग–भेट, आशिष् आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर बडो धूमधामका साथ मनाइन्छ । ल्होसारको दिन गुरुङ जाति आफ्नै शैलीका भेषभुषा जस्तै महिलाले शिरबन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिटाको गुन्यु र मजेत्रो लगाएर सजिन्छन् भने पुरुषले शिरमा टोपी, भोटो माथि भाङ्ग्रो लगाउँछन् र त्यसको साथमा कछाड अनि पटुकी बाँध्छन् । अन्य जातले जस्तै गुरुङ जातिको पनि पर्वहरू मनाउने आफ्नै शैली छ । यी जातिमा घाट, सोरठी स्थानीय भाषामा चुड्का भनेर प्रचलित नाच कौडा नाचेर आफ्ना परिवार साथीभाइसँग रमाइलो गर्छन् ।
ग्रह, राशि, तिथि, नक्षेत्र आदिमा ज्योतिषशाश्त्र आधारित भए जस्तै सांकेतिकरुपमा बाह्र थरिका विभिन्न पशुपन्छीको नाउँबाट नामकरण गरिएको तमू बर्गचक्र ल्होकोरमा तमू क्यालेन्डर आधारित छ। १२ बर्षमा एक बर्गचक्र पुरा हुन्छ । १२ ल्होहरु गरुड गिद्ध (मुप्रील्हो), सर्प (सप्रील्हो), घोडा (तल्हो), भेंडा (मुल्हो), बाँदर (प्रह्ल्हो), चरा (च्यल्हो), कुकुर (खिल्हो), म्रिग (फोल्हो), मुसा (च्यूल्हो), गाई (लोल्हो), बाघ (तोल्हो) र बिरालो (ह्यूल्हो) बर्ग छन् ।
तमू क्यालेन्डरअनुसार प्रत्येक बर्ष पौष १५ मा वर्ग परिबर्तन हुन्छ। तमूहरु समूदायमा बस्ने र प्राकृतिक स्वाभावको भएकोले ल्होछार पनि सामुहिकरुपमा मिलेर मनाउँछन् । बिशेष गरि पौष १४, १५ र १६ तिन दिनसम्म समाजघर अथवा कुनै फराकिलो ठाउँमा सामुहिकरुपमा खाना खाने, तमू मौलिक सांस्कृतिक नाँचगान, खेलकूद गर्ने, समाजका मान्यजनहरुबाट आशिर्बाद लिने, समाजका युवाबर्गलाई हौसला बढाउँने साथै समाज र राष्ट्रप्रति योगदान पुर्याउँने व्यक्तिहरुलाई राम्रो कामको प्रसंसा गर्दै सम्मान गरिन्छ ।