काठामाडौं । साविक विजेता नेपालले एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधी जितेको छ । नेपालले आज भएको फाईनलमा उज्वेकिस्तानलाई पराजित गर्दै लगातार दोस्रो संस्करणमा अपराजित रहँदै उपाधी जितेको हो ।
बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा मंगलबार भएको उपाधि भिडन्तमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गरेको हो । नेपालले उज्वेकिस्तानमाथि २६–२४, २४–२६, २५–१५, २२–२५ र १५– १० ले जित्न सफल भयो ।
नेपालले बंगलादेशमै सन् २०१९ मा भएको पहिलो संस्करणमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै अपराजित र एक सेट पनि नगुमाई च्याम्पियन बन्दै नेपाली भलिबल इतिहासमा ऐतिहासिक स्वर्णपदक जितेको थियो ।
पहिलो सेटमा एक समय १२–१७ ले पछि रहेको नेपालले पूनरागमन गर्दै २०–१८ को अग्रता लिदै जिततर्फ अग्रसर बनेको थियो । तर, त्यसपछि नेपालले लगातार अंक गुमाउँदा खेल २१–२१ को बराबरीमा पुगेको थियो । त्यसपछि नेपालले तीनपटक सेट प्वाइन्टमा पुग्दै २६–२४ को रोमाञ्चक जित निकाल्न सफल भयो ।
दोस्रो सेटमा पनि कुनै पनि समय अग्रता लिन नसकेको नेपालले २४–२६ ले उज्वेकिस्तानलाई नतिजा सुम्पियो । रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा एक समय नेपालले खेललाई १५–१६ को अवस्थामा ल्याएको थियो । त्यसपछि लय गुमाएको नेपाल १९–२३ ले पछि परेको थियो ।
उज्वेकिस्तानका प्रशिक्षकले रातो कार्ड खाएपछि नेपालले एक अंक थप्दै खेलमा फर्किएको संकेत दिदा ३ अंक जोड्दै खेललाई २३–२३ को बराबरीमा ल्याउँदै नेपालको आशा जगाएको थियो । त्यसपछि नेपालले एक अंक जोड्दा उज्वेकिस्तानले दुई पटक सेट प्वाइन्ट लिदै खेल २६–२४ ले आफ्नो पक्षमा पार्न सफल भयो ।
तेस्रो सेटमा सुरुवातमा प्रतिस्पर्धा हुदा ११–११ को बराबरीबाट अग्रता लिदै लगातार ७ अंक जोडेपछि नेपालले १८–११ ले अघि बढ्दै जिततर्फ अग्रसर बन्यो । त्यसपछि नेपालले थप ७ अंक जोड्दै २५–१५ को सहज जित निकाल्न सफल भयो ।
प्रतिस्पर्धात्मक चौथो सेटमा १०–१० को बराबरीबाट पछि परेको नेपालले सेट २२–२५ ले गुमाउन पुग्दा खेल पाँचौ सेटमा लम्वियो । प्रतिस्पर्धात्मक पाँचौ सेटमा ७–७ को बराबरीबाट अघि बढेको नेपालले १३–९ को अग्रता लिदै जिततर्फ अग्रसर बन्यो । त्यसपछि उज्वेकिस्तानले दुई अंक र नेपालले दुई अंक जोड्दै १५–१० को सेटमा च्याम्पियन बन्न सफल भयो ।