
काठमाडौं । बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको सेमिफाईनलमा किर्गिस्तानलाई हराउँदै नेपालको महिला टोली फाइनलमा प्रवेश गरेको छ । राउन्ड रोविन लिगको अन्तिम खेलमा किर्गिस्तानमाथि सोझो सेटमा जित निकाल्दै नेपालले लगातार दोस्रो संस्करणमा पनि अपराजित रहँदै फाइनलमा स्थान बनाउन सफल भएको हो ।
ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा सोमबार भएको एकपक्षीय खेलमा नेपालले पहिलो सेट २५-८ ले सहजै आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेट २५-१४ ले आफ्नो पक्षमा पारेको नेपालले तेस्रो सेट २५-१६ ले आफ्नो पक्षमा पार्दै फाइनलमा पुग्न सफल भयो ।
अपराजित रहेको नेपालले लिग चरणमा श्रीलंकामाथि ३-२ को सेटमा जित निकालेको थियो । त्यसपछि नेपालले माल्दिभ्स, बंगलादेश र उज्वेकिस्तानलाई समान ३-० को सोझो सेटमा हराएको थियो । अब नेपालले उपाधिका लागि मंगलबार उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले लिग चरणमै उज्वेकिस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।