सेन्ट्रल जोन भलिबलमा नेपालद्वारा श्रीलंका पराजित

Avatar photo
Dhadingpost
बिहिबार, पुस ८, २०७८

काठमाडौं । बंगलादेशमा आजबाट सुरु भएको एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा साविक विजेता नेपालले महिला टोलीले विजयी सुरुवात गरेको छ ।

ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा बिहीबार भएको खेलमा नेपालले शुरुवाती दुई सेट गुमाएपनि त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्दै जित निकाल्न सफल भएको हो ।

पहिलो सेट १९–२५ ले गुमाएको नेपालले दोस्रो सेट पनि २१–२५ ले गुमाउन पुगेको थियो । तेस्रो सेटमा २५–१५ को सहज जित निकाल्दै नेपाल खेलमा फर्किएको थियो । चौथो सेटमा सुरुवातमा पछि परेपनि नेपालले पूनरागमन गर्दै २५–१९ ले जित निकाल्न सफल भयो । रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको पाँचौ तथा निर्णायक सेटमा १५–१३ को जित निकाल्न सफल भयो ।

अब नेपाली महिला टोलीले २४ डिसेम्वरमा महिला टोलीले माल्दिभ्ससँग खेल्नेछ । २५ डिसेम्वरमा घरेलु टोली बंगलादेशसँग तथा लिगको अन्तिम खेलमा उज्वेकिस्तानसँग खेल्ने तालिका छ । लिगकम नकआउट चरणपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछ । तेस्रो र चौथोले २८ डिसेम्वरमा तेस्रो र चौथो स्थानको लागि खेल्नेछ । पुरुष र महिलाको फाइनल २९ डिसेम्वरमा हुनेछ ।

नेपालको महिला भलिबल टोली
प्रतिभा माली, सरस्वती चौधरी, शान्ति थारु, उषा भण्डारी, साफिया पुन, सुनिता खड्का, मनिषा चौधरी, कामना विष्ट, लक्ष्मी चन्द, सलिना श्रेष्ठ, अरुणा शाही र कृपा अधिकारी