धादिङ । धादिङको नेत्रावती डबजोङ गाउपालिका–४, सेल्लेमा जारी दोस्रो प्रदिप स्मृति कप फुटबल प्रतियोगिताको उपाधी आयोजक छोइलिङ युवा क्लव सल्लेलाई हराउँदै चरङ्गे युवा क्लवले जितेको छ ।
जिल्लाका विभिन्न १९ टिमले भाग लिएको यस ‘प्रदिप स्मृति कप खुल्ला सेभेन ए साईड फुटबल’ प्रतियोगिताको फाईनलमा आयोजक सेल्लेलाई हराउँदै चरङ्गेले जितेको हो । जितका लागि छोइलिङ युवा क्लव सेल्लेको २ गोलका विरुद्ध चरङ्गे युवा क्लवले ४ गोल गरेको थियो ।
आयोजकले कार्यक्रमको प्रमुख अतिथि तथा वागमती प्रदेशका उप सभामुख राधिका तामाङको हातबाट विजेता चरङ्गेलाई ५० हजार, उप-विजेता सेल्ललाई ३० हजार र सेमीफाईनलमा रोकिएका डीएफसी र ब्रादी युवा क्लवलाई ८-८ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरेको खेल प्रशिक्षक दिपक तामाङले धादिङपोष्टलाई बताए ।
कार्यक्रमा माओवादी केन्द्र धादिङका नेता रामबहादुर भण्डारी, प्रदेश खेलकुद परिषदमा सदस्य सचिव, जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङ, स्थानीय राजनीतिक दलका नेताहरु, समाजसेवीहरुको आतिथ्यता रहेको थियो ।