
काठमाडौं । नेपालमा सरकारी कर्मचारीले वर्षमा १२१ दिन कार्यालय जानुपर्दैन । उनीहरूले १२ दिन बिरामी बिदा, ३० दिन घर बिदा, १२ दिन भैपरि तथा पर्व बिदाको सुविधा पाउँछन् । यसैगरी जागिर अवधिभर तीन वर्ष अध्ययन बिदा तथा थप तीन वर्ष असाधारण बिदाको सुविधासमेत उनीहरूले पाएका हुन्छन् ।
यसैगरी महिला कर्मचारीका हकमा ९८ दिन प्रसूति बिदा तथा उसका पतिलाई समेत १५ दिन सुत्केरी बिदाको सुविधा दिइएको हुन्छ । यस बाहेक एक वर्षमा ५२ दिन शनिबार र करिब १५ दिन सार्वजनिक बिदाको सुविधा उनीहरूले पाएका हुन्छन् ।
आधाजसो निजामती कर्मचारीले आफूले पाएको बिदा सञ्चित गरी अवकाश पाउने बेला १८० दिन बराबरको सुविधा लिने गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक उपसचिव बताउँछन् । सरकारले तोकेको सार्वजनिक बिदाबाहेक बेलाबेलामा मन्त्रिपरिषद्ले निर्णय गरेर थप बिदा घोषणा गर्ने गर्छ । यो सुविधा पनि कर्मचारीहरूले पाउने गर्छन् ।
मन्त्रिपरिषद्को पुस १ गते बसेको बैठकले पुस ४ गते आइतबार उधौली पर्व धान्य पूर्णिमाको दिन पारेर काठमाडौं उपत्यका र सम्बन्धित समुदायका नागरिकलाई देशभर बिदा दिने निर्णय गरेको छ । यसैगरी प्रदेश २ सरकारले गत मंसिर २२ गते सीताराम विवाहको दिन पारेर प्रदेशभर बिदा दिने निर्णय गरेको थियो । यो समाचारनागरिक दैनिकमा छ ।