
काठमाडौं । साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपको दोस्रो खेल आज बुधबार नेपाल र श्रीलंका बीच हुँदैछ । बंगलादेशको ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुने उक्त खेल दिउँसो २:४५ बजे सुरु हुनेछ ।
पहिलो खेलमा नेपालले उपाधि दाबेदार बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने आज श्रीलंकाविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । नेपाल १ खेलमा १ अंक जोडेर अंक तालिकाको चौंथो स्थानमा रहेको छ । श्रीलंकालाई हराएर नेपाल उपाधि होड कायम राख्न चाहन्छ ।
श्रीलंका अंक विहीन रहेको छ । श्रीलंकाले २ खेलमा अंक जोड्न सकेको छैन । श्रीलंका पहिलो खेलमा भुटान र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो । नेपाललाई हराएर श्रीलंका पहिलो अंक जोड्ने चाहन्छ ।
च्याम्पियनसिपको तेस्रो खेलमा नेपालले भुटानविरुद्ध डिसेम्बर १७ र अन्तिम खेल भारतविरुद्ध डिसेम्बर १९ मा खेल्नेछ। राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ । आयोजक बंगलादेशसहित नेपाल, भुटान, भारत र श्रीलंकाले सहभागिता जनाएका छन् । शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्ने छन् । फाइनल खेल डिसेम्बर २१ मा हुनेछ।