धादिङबाट कांग्रेस महादिवेशनमा ९ जनाको उम्मेदवारी दर्ता

Avatar photo
Dhadingpost
मंसिर २६, २०७८

धादिङ मंसिर २६ । काठमाडौंमा जाी नेपाली कांग्रेसको १४ औं महादिवेशनमा १३४ पदका लागि धादिङका ९ जना सहित देशभरबाट ४९१ जनाले उम्मेदवारी दर्ता गराएको छन् ।

धादिङका नेता तथा सांसद डाक्टर राजाराम कार्कीले महामन्त्री पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । प्रकाशमान सिंह र विमलेन्द्र नीधि दुई समुहको आफु महामन्त्री पदको साझा उम्मेदवार रहेको धादिङपोष्टलाई बताए । कांग्रेस अहिले तमाम विकृती र विसंगतीमा रुमल्लिएको छ । विचार एकातिर व्यवहार अर्को तिर बनेको अवस्था छ, यसलाई सच्याई लुटतान्त्रिक हैन लोकतान्त्रिक पार्टी बनाउन आफुले महामत्री पदमा उम्मेदवारी दिएको कार्कीले बताएका छन् ।

पूर्वमन्त्री एवम् धादिङका नेता दिलमान पाख्रिनले आदिवासी जनजाती खुल्ला तर्फ केन्द्रीय पदका लागि उम्मेदवारी दिएका छन् । धादिङका निवर्तमान सभापति रमेश धमलाले बागमती प्रदेशको तर्फबाट केन्द्रिय सदस्य पदमा उम्मेलवारी दिएका छन् उनी शेखर कोइरालाको समुहमा छन् ।

यस्तै धादिङबाट दलित तर्फबाट गोपाल विश्वकर्मा, खस आर्य महिला तर्फबाट उर्मिला थपलिया र अप्सरा कोईराला, खुल्ला महिलाको तर्फबाट कल्पना अधिकारी, खुल्ला तर्फबाट रामशरण थपलिया र आदिवासी जनजाती महिला तर्फबाट शान्ताकुमारी तामाङले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका हुन् ।

शनिबार ५४८ जनाले उम्मेदवारी दर्ता गरेकामध्ये आइतबार ५७ जनाले आफ्नो मनोनयन फिर्ता लिएसँगै ४९१ जना चुनावी मैदानमा रहेका हुन् । सभापतिका प्रत्यासी युवराज न्यौपाने, सहमहामन्त्रीका प्रत्यासी (थारु तर्फ) सुरेन्द्रप्रसाद चौधरी र ५५ जना विभिन्न कलस्टरका सदस्यका प्रत्यासीले मनोनयन फिर्ता लिएका छन् ।

आइतबार दिउँसो १ बजेसम्मका लागि मनोनयन फिर्ताका लागि दिएको समयमा एक सभापति, एक सहमहामन्त्रीसहित ५७ जनाले उम्मेदवारी फिर्ता लिएसँगै ४९१ जना चुनावी मैदानमा रहेका कांग्रेस निर्वाचन समितिले जनाएको छ ।